images
images
  • रातारात करोडपति बनेकाहरूमाथि जेनजीले गर्‍यो छानबिनको माग

    काठमाडौँ – राजनीतिक नेतृत्वमाथिमात्र भ्रष्टाचारको आरोप लगाएर हुने परिवर्तनले मुलुकबदलिन सक्दैन भन्दै जेनजी आन्दोलनकर्ता अब कर्मचारी संयन्त्रको जरोमै प्रहार गर्ने गरी अघि बढ्ने गृहकार्यमा छन् ।

    उनीहरूले दशकौँदेखि ‘आकर्षक’मानिने मन्त्रालय–निकायमा जरा गाडेर बसेका उपसचिव, सहसचिव, सचिवदेखि विगतका कतिपय मुख्य सचिवसम्मकै अकुत सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग कडा माग गरेका छन्। अर्थात् यो अकुत सम्पति छानबिनमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचित वातावरण प्रदान गर्नु पर्नेमा जेनजी अभियन्ताहरूको जोड छ ।

    जेनजी एलाइन्स र जेनजी फ्रन्टका प्रतिनिधिहरूले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटमा कर्मचारीको अकुत सम्पत्तिका बारेमा समेत छानबिन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

    जेनजी अभियानमा सक्रिय एक प्रतिनिधिलका अनुसार लामो समयदेखि आकर्षक निकायमा बसेकाहरू नै रातारात करोडपति बनेका छन् । त्यस्ता व्यक्तिहरूको बारेमा आवश्यक सूची पनि बनाइरहेका छौं । जेनजी अभियन्ताहरूले त्यस्तो सूची तयार पारेर सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइने जनाएका छन् ।

    जेनजी समूहले रूपमा अर्थ मन्त्रालय र मातहतका निकायहरूलाई भ्रष्टाचारको मुनाफा खाने केन्द्रका रूपमा पहिचान गरेको छ। उनीहरूका अनुसार शाखा अधिकृतदेखि सचिवसम्म वर्षौं त्यही ठाउँमा बस्दै ‘सम्पत्ति र साम्राज्य’निर्माण गरेको आरोप ती कर्मचारीमाथि लागेको छ।

    त्यसैगरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर लामो समय बसेका उपसचिव, भन्सार विभाग,आन्तरिक राजस्व विभाग, वाणिज्य विभाग, ८ राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ,सिँचाइ विभाग लगायतका कार्यालयमा विगतमा तथा हाल रहेका महानिर्देशकहरू पनि जेनजी छानबिनको प्राथमिक सूचीमा परेका छन्। यस्तै अन्य विभिन्न मन्त्रालय र त्यहाँ बसेका र रातारात करोडपति बनेका अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरू माथि समेत छानबिन गर्नुपर्ने माग जेनजीको छ ।

    यसैगरी जेनजी अभियन्ताका अनुसार यी कर्मचारीमध्ये धेरै जसोको जीवनशैली, खर्च, घर–जग्गा र कारोबार उनीहरूको आधिकारिक आयसँग मेल खाँदैन।

    ‘कुनै–कुनै उपसचिव र सहसचिवहरू देशभर पाँच–छ वटा महँगा घर, आधुनिक फार्म हाउस र करोडौँको व्यापारका मालिक भएको तथ्य हामीले संकलन गरिरहेका छौँ’ जेनजीका एक अभियन्ताले बताउँछन्।

    जेनजी समूहले अहिले भ्रष्ट कर्मचारीहरूको नामावली तयार गर्ने अन्तिम चरणमा पुगेको र सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएको छ।

    सुशासनका लागि लडिरहेको जेनजी एलाइन्सले गत २ मंसिरमा केही भ्रष्ट बिचौलियाहरूको नाम समेत किटेर यस अघिका विभिन्न प्रधानमन्त्रीहरूसँग उनीहरूले मिलेमतो भएको ठहर गर्दै कारबाहीको माग गर्दै अख्तियारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका थियो ।

    यही एलाइन्सले भ्रष्टाचारमा संलग्न कर्मचारीहरूमाथि छानबिन र कारबाहीको माग गर्दै केही भ्रष्ट कर्मचारीको नाम नै किटान गरेर अख्तियार समक्ष उजुरी दिने तयारी गरेको हो । सम्पत्ति स्रोत खुलाउन नसक्ने कर्मचारीको सम्पत्ति तत्कालै जफत गर्नुपर्ने र उनीहरूलाई कानुनी कारबाहीको दायरा माल्याउन सरकार तत्काल एक्सनमा जानु पर्ने आवश्यकता जेनजी अभियन्ताहरूले औल्याएका छन् ।

    जेनजी अभियान कर्ताहरूले आफ्नो सुशासन एजेन्डा स्थापित नहुन्जेल र भ्रष्ट कर्मचारीको सम्पत्ति जफत नहुन्जेल अभियान निरन्तर चलाइने चेतावनी दिएका छन्।

    ‘हामीले सुरु गरेको यो आन्दोलन राम्रो प्रशासन र स्वच्छ शासनका लागि हो। भ्रष्टाचारमा लिप्त कर्मचारीको जरा न उखेलेसम्म हामी रोकिँदैनौँ’– जेनजी नेताहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images