काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुँदैछ। आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकता गर्न लागेका हुन्।
वैकल्पिक तथा विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ तुल्याउन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुवै पार्टी सहमत भई एकीकरणलाई निष्कर्षमा पुर्याइएको यी दुई पार्टीले जनाएका छन् ।
‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला नवयुवाहरू (जेनजी) को आन्दोलनले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तीव्रतर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, संवृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देस दिन्छ,’ विवेकशील साझा पार्टीले एकताबारे उल्लेख गरेको थियो।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै टुंग्याइने पनि उनीहरूले बताएका छन्। एकतापछि पार्टीको नाम, चुनव चिह्न, पार्टी नेतृत्वमा कुनै फेरबदल आउने छैन।
वैकल्पिक र विवेकशील संस्कारका रूपमा २०७० को दशकमा विवेकशी पार्टीको जन्म भएको थियो। उज्ज्वल थापाले यसलाई संस्कार र आन्दोलनको रूपमा आकार दिएका थिए। थापाको २०७८ चैत १८ गते निधन भइसकेको छ।
२०७४ साल साउन ११ गते तत्कालीन साझा पार्टीसँग एकता गरी विवेकशील साझा पार्टी बनाइएको थियो।























