images
images
  • धोबिनी गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधी अभाव, बिरामीको हात रित्तो

    काठमाडौँ – पर्साको धोबिनी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा औषधी अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । धोबिनी वडा नम्बर-१ घोडदौरा, वडा नम्बर-२ को प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर, वडा नम्बर-३ को हरिपुर स्वास्थ्य चौकी, वडा नम्बर–४ को लङ्गडी र वडा नम्बर-५ को धोबिनीका स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामी मर्कामा परेका हुन् ।

    प्रसूतिका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधी अभाव हुँदा लङ्गडी र प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरका बर्थिङ सेन्टर बन्द भएको स्वास्थ्यकर्मीले बताएका छन् । सेन्टरमा साबुनसमेत नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

    स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीहरू उपचारबिनै घर फर्किने गरेका छन् । सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य संस्थाहरूमा ९८ प्रकारका औषधी खरिद गरि निःशुल्क वितरण गरिन्छ । तर, यी स्वास्थ्य संस्थाहरूमा भने निःशुल्क पाइने औषधीसमेत अभाव भएको बताइएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा औषधी खरिद गरिएको थियो । यस वर्षको आर्थिक वर्षमा भने पालिका प्रमुखको लेनदेन नमिलेपछि औषधी खरिद नभएको स्थानीयको आरोप छ । कमिशनको चलखेलका कारण ५० लाख बराबरको औषधी खरिद भएपनि छिट्टै सकिने गरेको छ । गत वर्ष खरिद गरेको औषधी सकिएको र स्वास्थ्य प्रमुखसँग औषधीको लिखित सूची माग गर्दा अहिलेसम्म उपलब्ध नगराएको स्वास्थ्य चौकीले जनाएको छ ।

    यी स्वास्थ्य संस्थाहरूमा गत असोजयता औषधी उपलब्ध छैन । स्वास्थ्य संस्थाका प्रमुखहरूले औषधिका लागि लिखित रूपमै माग गर्दा पनि सम्बन्धित निकायले नसुनेको उनीहरूको गुनासो छ ।

    चिसो मौसम सुरु भएसँगै बिरामीको चाप बढेको छ । रुघाखोकी, ज्वरो र झाडापखालाका बिरामी ह्वात्तै बढेका छन् । स्वास्थ्य संस्थामा भने सिटामोल, जीवनजल समेत नपाएपछि उनीहरू रित्तो हात फर्किने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images