images
images
  • महाधिवेशन : विवादले विभाजनको डिलमा कांग्रेस, हुन सकेन सहमति

    काठमाडौँ – महाधिवेशन विवादले अहिले सबैभन्दा पुरानो र तत्कालीन प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच विवाद बढेको छ । संस्थापनइतर समूहले विगत १ वर्षदेखि विशेष महाधिवेशनको बहस गरिरहेको छ भने ६ महिनादेखि त विशेष महाधिवेशनको माग नै गरिरहेको छ । तर, संस्थापन पक्ष भने कुनै हालमा विशेष महाधिवेशन नगर्ने बरु प्रतिनिधिसभा चुनावपछि नियमित महाधिवेशन गर्ने अडानमा छ ।

    संस्थापन पक्ष अहिले महाधिवेशनका लागि हतारिने भन्दा चुनावकेन्द्रित हुनुपर्ने लाइनमा छ भने इतर पक्ष तत्काल महाधिवेशनमार्फत् पार्टी शुद्धीकरण गरेर मात्र चुनावमा जानुपर्ने अडानमा छ । यही रस्साकस्सीकाबीच आज बिहीबारका लागि तोकिएको पार्टीको केन्द्रीय समितिको बैठक नै शुक्रबारका लागि सारिएको छ । डेढ महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनकै लागि २ फरक प्रस्ताव पेस भएका छन् । संस्थापन इतर समूहको तर्फबाट महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म गर्ने र संस्थापनको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले २७ वैशाख, २०८३ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    नियमित कि विशेष महाधिवेशन भनिरहँदा १४औँ महाधिवेशनले ४ वर्षका लागि चयन गरेका पदाधिकारीहरूको पनि अवधि समाप्त भइसकेको छ । १४औँ महाधिवेशनले ९ मंसिर, २०८२ मा अवधि सकिने गरी अहिलेको नेतृत्व चयन गरेको थियो । १ वर्षसम्म महाधिवेशनको समय धकेल्न सक्ने पार्टी विधानमा व्यवस्था छ । तर, बहुमत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको खण्डमा विधानतः ३ महिनाभित्र विशेष अधिवेशन बोलाउनैपर्ने हुन्छ ।

    कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र र अनिवार्यजस्तै भएको संकेत बुधबार विशेष महाधिवेशन पक्षधरहरूले दिने प्रयास गरे । विशेष महाधिवेशन पक्षमा रहेका अधिकांश प्रतिनिधिहरू केन्द्रीय समिति बैठकमा दबाब दिने उद्देश्यले अहिले काठमाडौँकेन्द्रित छन् र बुधबार राष्ट्रिय सभागृहमा भेला नै गरेर संस्थापनप्रति असन्तुष्टि पोखे । उनीहरूको एकसूत्रीय माग नै विशेष महाधिवेशन छ । भोली शुक्रबार बस्ने केन्द्रीय समितिले नै विशेष महाधिवेशनको मिति टुंग्याउनुपर्ने माग उनीहरूको छ ।

    जसरी पनि संसदीय चुनावअघि महाधिवशेन हुनुपर्ने इतर समूहको माग र चुनावअघि कुनै हालतमा महाधिवेशन नगराउने संस्थापन पक्षको अडानले अहिले पार्टीभित्र विभाजनको बहस सुरु भइसकेको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त विशेष महाधिवेशनको मागलाई पार्टीभित्र विवाद ल्याउने प्रस्तावका रूपमा व्याख्या गर्दै यदि त्यस्तो अवस्था आए आफू भूमिकाबाटै अलग्गिने चेतावनी दिएका छन् ।

    सुरु भयो विभाजनको बहस

    महाधिवेशनको खिचातानीका कारण कांग्रेस कतै विभाजन हुने भन्ने संशय पार्टीभित्रै उठ्न थालिसकेको छ । नेता कृष्णप्रसाद सिटौलाले त पार्टी विभाजनको अवस्था आयो भने त्यसको जिम्मेवारी विशेष महाधिवेशन बोलाउने निर्णय गर्नेहरूले लिनुपर्ने चेतावनी दिँदै त्यसतर्फ संकेत गरेका थिए ।

    पार्टीका माथिल्लो तहका नेताहरू पार्टी विभाजनको प्रश्नमा अन्तर्संघर्ष मात्र भनिरहँदा तल्लो तहका नेताहरू भने महाधिवेशनको लडाइँले पार्टी नै फुटको संघारमा पुगेको बताउँछन् । विशेष महाधिवेशन पक्षधर गुरुराज घिमिरे भने पार्टी विभाजनको बाटोमा गएको भन्दा पनि अहिले मत विभाजन भएको तर्क गर्छन् ।

    कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्य भने कांग्रेस अहिल विभाजनको संघारमा रहेको बताउँछन् । कांग्रेस विभाजनोन्मुख रहेको र त्यसलाई कसैले ढाकछोप गर्न नसक्ने दाबी उनको छ ।

    बाहिर प्रचार गरेजस्तो विभाजनकै अवस्था कांग्रेसभित्र नरहेको नेता घिमिरे बताउँछन् । तर, अहिले कांग्रेसभित्र देखिएको ध्रुवीकरणले विभाजनको विश्लेषण गर्न सहज बनाएको उनको ठम्याइ छ ।

    केन्द्रीय समिति बैठकमै विभाजनको विषयले प्रवेश पाइसकेको छ । कसैले यसलाई पार्टी पुनर्संरचनाको स्वरूपमा लिइरहेका छन् भने कसैले विभाजनको सुरुआतका रूपमा हेरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images