images
images
  • विदेशमा रहेका नेपाली विद्यार्थीले विदेशमै अनलाइन पढ्न र परीक्षा दिन पाउने

    काठमाडौँ त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपालीका लागि प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पसमार्फत अनलाइन पढाउने व्यवस्था गर्ने घोषणा गरेको छ । त्यस्ता विद्यार्थीको परीक्षा नेपाली दूतावाससँग सहकार्यमा भौतिक रूपमा लिने व्यवस्था गर्ने भएको छ ।

    यसरी अध्ययन पूरा गरी शैक्षिक उपाधिसहित स्वदेश फर्किंदा विद्यार्थीलाई आर्थिक र शैक्षिक गरी दोहोरो लाभ मिल्ने अपेक्षा त्रिविले गरेको छ । त्रिविको हिजो सम्पन्न नीति तथा कार्यक्रममा उपकुलपति प्राडा दीपक अर्यालले विदेशमा रहेको विद्यार्थीका लागि सो व्यवस्था लागु गर्न लागेको जानकारी दिएका हुन् ।

    नीति तथा कार्यक्रममा दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी भएका क्याम्पसका कार्यक्रमलाई गाभ्ने उल्लेख छ । देशैभरका क्याम्पसमा सो नीति लागू गर्न लागेको हो । त्यस्तै, ती क्याम्पसमा आवश्यकताको आधारमा विषय थप गर्ने विषय उल्लेख छ ।

    त्रिविले पारित गरेको नीति तथा कार्यक्रममा मानव संशाधन व्यवस्थापन तथा जनशक्ति विकास, शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत पुनःसंरचना तथा विकास, सूचना प्रविधिडिजिटल रूपान्तरण, अनुसन्धान तथा प्रकाशन, भौतिक पूर्वाधार, विश्वविद्यालयको स्रोत परिचालन, अनुगमन, गुणस्तर नियन्त्रणसुशासन, अन्तर्राष्ट्रियकणविश्व श्रेणीकरणमा सुधारवित्तीय व्यवस्थापनका सम्बन्धमा नीतिगत सुधारका विषय उल्लेख छ ।

    त्रिविले ब्रान्ड प्रवद्र्धन र आर्थिक आर्जनका लागि लोगो अंकित स्मारिका उपहार, लत्ता कपडा उत्पादन गर्ने नीति लिएको छ । विश्वविद्यालयमा अनुसन्धानलाई प्रोत्साहित गर्न हरेक वर्ष उत्कृष्ट अनुसन्धान तथा प्रकाशन गर्ने अनुसन्धानकर्तालाई पुरस्कृत गर्ने भएको छ । त्यस्तै अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका र बिदा उपयोग गरी तोकेको उपाधि हासिल नगरेका कर्मचारीको लागत विवरण तयार गरी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ । विश्वविद्यालयको सबै निकायको आत्मनिर्भर कार्यक्रममा प्रदान गरिरहेको पदाधिकारी, शिक्षक तथा कर्मचारीको सुविधालाई प्रभावकारी र पारदर्शी बनाउन उच्च स्तरीय समिति गठन गरी एकरूपता कायम पर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    परीक्षा नियन्त्रण कार्यालयको प्रादेशिक कार्यालयलाई प्रभावकारी बनाएर सूचना प्रविधिको पहुँचलाई थप व्यवस्थित गर्न अनलाइन भुक्तानी र ट्रान्सकिप्टहरू प्रादेशिक पनिकाबाट वितरण गर्ने व्यवस्था गर्ने भएको छ । त्यस्तै, डीन कार्यालयबाट सञ्चालन हुने सेमेस्टर प्रणाली प्रादेशिक पनिकाबाट समन्वय गरी सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

    त्रिविबाट सम्बन्धन लिएका क्याम्पसको कार्यसम्पादन मूल्याङ्कन गरी समायोजन र खारेज गर्ने, शिक्षक कर्मचारीको स्तर निर्धारण गर्ने, त्रिविको स्तरउन्नति गर्न उच्चस्तरीय आयोग गठन गर्ने, त्रिविको व्यवस्थापन एवं शैक्षिक सूचना प्रणाली इमिसको स्तरउन्नति गर्ने, सबै क्याम्पसमा इमिसलाई अनिवार्य गर्ने, सबै क्याम्पसको जीआईएस नक्साङ्कन गर्ने, ठूलो परीक्षा हल निर्माण गर्नेलगायत विषय नीति तथा कार्यक्रममा समावेश छन् ।

    त्यसै गरी त्रिविको सम्पत्ति खोजीलाई निरन्तरता दिने, भएको जग्गाको तारबार लगाउने, व्यावसायिक साझेदारी, भाडा नवीकरण, अल्मुनाई तथा दातृ निकायसँग सहकार्य गरी आन्तरिक स्रोत व्यवस्थापन गर्नेलगायत विषय नीति तथा कार्यक्रममा समावेश छन् ।

    तथ्याङ्कअनुसार त्रिविमा ५ अध्ययन संस्थान, ४ संकाय, ४ अनुसन्धान केन्द्र, ६४ आङ्गिक क्याम्पस, ४४ केन्द्रीय विभाग र १ हजार ४८ सम्बन्धन प्राप्त ९निजी र सामुदायिक० क्याम्पस र कलेज सञ्चालित छन् । त्रिविमा स्नातक, अधिस्नातक, पोस्ट ग्रयाजुएट, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि उपाधिका लागि ४ सय १० शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।

    विश्वविद्यालय अनुदान आयोगका अनुसार उच्च शिक्षामा अध्ययनरत कुल ६ लाख ३३ हजार ५३ विद्यार्थीमध्ये ४ लाख ९१ हजार २ सय ९९ जना विद्यार्थी त्रिविमा अध्ययनरत छन् । यो उच्चशिक्षामा अध्ययनरत कुल विद्यार्थी संख्याको ७७ दशमलव ६० हो ।

    समकालीन विश्वमा विज्ञान तथा प्रविधिका क्षेत्रमा भइरहेका विकास र उपयोगले उच्च शिक्षा अध्ययन अध्यापनमा भएको सहजीकरण, उद्यमशीलता र रोजगारीको अवधारणामा भएको परिवर्तनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक, सामाजिक, आर्थिक, प्राविधिक र पर्यावरणीय परिवेशमा आएको परिवर्तनले उच्चशिक्षामा आमसमुदायको पहुँच, गुणस्तरीय शिक्षा, अनुसन्धान र स्तरीय प्रकाशन, दक्षजनशक्ति व्यवस्थापनको चुनौती सामना गर्दै त्रिवि निरन्तर अगाडि बढिरहेको उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images