images
images
  • जेनजी आन्दोलनको अनुसन्धान प्रगति : काठमाडौँमा ४९ जनाको मृत्यु, ७ जनाको पहिचान खुलेन

    काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले जेनजी आन्दोलन र त्यसपछिको अनुसन्धान तथा प्राप्त उपलब्धिबारे विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै परिसरले हालसम्म प्रहरीतर्फबाट भएका कामहरूको विस्तृत जानकारी गराएको हो ।

    आन्दोलनका क्रममा भएको क्षतिका सम्बन्धमा परिसरले विभिन्न २२८ स्थानबाट क्षतिको विवरण संकलन गरेको थियो । घटनामा संलग्न भएको आरोपमा कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १५४ वटा मुद्दा दर्ता गरेको छ ।

    १५४ मुद्दामा प्रहरीले हालसम्म २६७ जनालाई पक्राउ गरिएको र तीमध्ये ८७ जनालाई हाजिर जमानीमा र ११३ जनालाई न्यायिक हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यसका साथै, हालसम्म अदालतमा पेस गरेकामध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्म १०४ वटा जाहेरी परिसरमा दर्ता भएको र ९ वटा उजुरी तामेलीमा राखिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा छन् । २३ र २४ भदौको आन्दोलनको क्रममा परिसरमा अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये ७ जनाको पहिचान खुल्न सकेको छैन ।

    ‘गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौँलाई हालसम्म १०४ वटा जाहेरी दरखास्त प्राप्त भएका छन् । जसमा व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा जाहेरी प्राप्त भएको छ,’ प्रहरीले भनेको छ । त्यस्तै, जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ५९ जनालाई फिर्ता ल्याइएको र बाँकी १५ जना थुनुवाहरू सम्पर्कमै रहेको भट्टराईले बताए ।

    टिओबी समूहका तेन्जिनबाहेक सबै नेपाली मूलका

    प्रहरीले जेनजी आन्दोलनमा टिओबी समूहको भूमिकाबारे अनुसन्धान जारी रहेको जनाएको छ । परिसरका अनुसार टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै रहेको र समूहको भूमिकाबारे अनुसन्धान जारी छ ।

    परिसरका प्रवक्ता भट्टराईले टिओबीको लोगो डिजाइन तेन्जिन आफैँले गरेको र भदौ २३ को प्रदर्शनका क्रममा बिजुलीबजार पुगेर बाइक पड्काउँदै नारा जुलुसका साथ उक्त समूहले भिड उत्तेजित गर्ने काम गरेको अनुसन्धानका क्रममा खुलेको बताए ।

    तेन्जिनले आफूलाई आधा तिबेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिनबाहेक अरू सबै सदस्य नेपाली मूलका भएको समेत खुलेको छ भने हिरासतमा रहेका तेन्जिनले आफूले भिड उत्तेजित गरेर गल्ती गरेको स्विकारिसकेका छन् । प्रहरीले तेन्जिनविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुर, लिखतसम्बन्धी तथा नागरिकता र राहदानीसम्बन्धी ३ वटा कसुरमा मुद्दा अघि बढाएको छ ।

    सर्वोच्चमा आगो लगाउने ५ जना पक्राउ

    जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी छन् भने प्रहरीले १ जनाको भने पहिचान खुलाएको छैन । अदालतमा आगजनी गर्ने अन्य केहीको पनि पहिचान भइसकेकाले उनीहरूलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने प्रवक्ता भट्टराईले बताए ।

    अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले प्रहरी परिसरमा जाहेरीसमेत दिएको छ । भदौ २४ मा सर्वोच्चमा भएको आगजनीपछि त्यहाँका २० हजारभन्दा बढी मिसिल जलेका थिए भने मुख्य भवन पूर्ण रूपमा नष्ट भएको छ ।

    काठमाडौँमा मात्र ४९ जनाको मृत्यु

    २३ र २४ भदौको जेनजी प्रदर्शनमा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ । जसमध्ये ७ जनाको भने अझै पहिचान हुन सकेको छैन । ती ७ जनाको चुच्चेपाटीस्थित भाटभटेनीमा जलेका अवस्थामा कंकाल भेटिएको थियो ।

    तर, त्यसबेला हराएका ७ जनाको हुलिया प्रहरीले प्राप्त गरिसकेकाले चाँडै पहिचान हुन सक्ने बताइएको छ । प्रवक्ता भट्टराईले भने, ‘चुच्चेपाटीको भाटभटेनीमा ७ वटा कंकाल फेला परेका हुन् भने उक्त शव पूर्ण रूपले जलेकाले डिएनएनको नमुना पाउन सकिएन । पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छौँ, शव पहिचान नभएसम्म एकिन गर्ने आधार देखिएन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images