काठमाडौँ – पार्टीका प्रभावशाली नेताहरूको विकल्प खोज्दै पलायन हुँदा वैकल्पिक राजनीतिक धारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमजोर बन्दै गएको छ । पुराना दललाई पाखा लगाउने योजनासहित स्थापित रास्वपाका केन्द्रीयदेखि जिल्ला तहका नेताहरूले धमाधम पार्टी छाड्ने अभियान नै चलाएका छन् ।
रास्वपा छाडेका नेताहरू विकल्पको खोजिमा लागेका छन् । विघटित प्रतिनिधि सभामा प्रमुख सचेतक सन्तोष परियारले रास्वपा छाडेर गएको दुई सातामै काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा दिए । उनले आइतबार सभापतिबाट राजीनामा दिएको बताए । यीबाहेक रास्वपाका दर्जन बढी स्थापित नेताहरूले पार्टी छाडिसकेका छन् ।
समानुपातिक सांसद हुँदै प्रमुख सचेतकको भूमिकामा पुगेका सन्तोष पछिल्लो समय भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि रास्वपामा नेतृत्व परिवर्तन र रूपान्तरणको मुद्दा उठाउने मध्येका एक थिए । पार्टी छाडेलगत्तै उनी डा। बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सुदन किरातीलगायत नेताहरूसँगको सहकार्यमा नयाँ पार्टी खडा गरेर नयाँ अभियानमा लागेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी९प्रलोपा०ले आइतबार नै घोषण सभा गरेको छ ।
परियार मात्रै होइन रास्वपाका अधिकांश नेताहरू रवि र उनको पक्षबाट कडा पेलानमा परेका छन् । डिपी अर्याल, स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटीसहितका नेताहरूले पार्टीमा पुनर्संरचित गर्ने विषय उठान गर्नेमाथि दबाब दिने गरेको नेताहरूले बताएका छन् । परियार निस्कँदै गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले समेत पार्टी नेतृत्व र उनको वरिपरिका नेताहरूमाथि टिप्पणी गरेका थिए ।
परियारभन्दा अघि पार्टी सहमहामन्त्रीबाट राजीनामा दिएकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले जेनजी आन्दोलनसँगै पार्टी परित्याग गरिन् ।
परियार र श्रेष्ठ सभापति लामिछानेको सहकारी काण्डमा सबैभन्दा बढी बचाउमा उत्रिएका नेता हुन् ।
गत २०७९ को आमनिर्वाचन ६ महिनाअघि मात्रै गठन भएको रास्वपाप्रति आमनागरिकको अपेक्षा विस्तारै ह्रास आउँदै गएको छ । सो दलले पहिलो निर्वाचनमा सात प्रत्यक्षसहित ११ लाखभन्दा बढी मत ल्याएर प्रतिनिधि सभाका चौथो दलको हैसियत बनाएको थियो । संसद्मा २० रहेको रास्वपाले उपनिर्वाचनका तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेले चुनाव जितेसँगै २१ सिट पुगेको थियो ।
पार्टी बनाएको छोटो समयमै संसद्मा राम्रो हैसियत बनाएको रास्वपा पछिल्लोपटक आन्तरिक विवादमा अल्झिएको छ । खासगरी सभापति रवि लामिछाने सहकारी ठगी काण्डमा पूर्पक्षका लागि थुनामा छन् । उनलाई पुराना दलहरूले प्रतिशोध साँधेर थुनिएको भन्दै रविको रिहाइको माग गर्दै आएका नेताहरूले नै पछिल्लोपटक पार्टी छाडेका हुन् । यसअघि पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाल, सांसद ढाकाकुमार श्रेष्ठसहितका नेताहरू पार्टीले कारबाही गरेर निष्कासन गरेको थियो । पूर्वमहामन्त्री ढकालले दुई वर्षअघि पार्टी रूपान्तरणको अभियान चलाएका थिए ।
केही समयअघि केन्द्रीय सदस्यहरू हरि भट्ट र डा. प्रभाव अधिकारीले राजीनामा दिएका थिए । त्यसअघि पार्टी स्थापनाको दुई महिनामै संस्थापक केन्द्रीय सदस्य गीता रेग्मीले पार्टीको विचार र नेतृत्वको गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन् ।
२०८० वैशाख १० को उपनिर्वाचनमा बारा–२ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्वएआईजी रमेश खरेल पनि पहिल्यै पार्टीबाट बाहिरिएका थिए । त्यस्तै, केन्द्रीय सदस्य महेश्वर घिमिरे पनि पार्टीबाट बाहिरिएका थिए । पूर्वअनुशासन आयोग प्रमुख डा. भरतमणि देवकोटाले पार्टी त्यागेका हुन् । त्यसअघि कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडेका थिए । पूर्वमहामन्त्री डा. मुकुल ढकालले पनि पार्टी छोडी सकेका छन् ।
त्यसअघि २०७९ कात्तिकमै पार्टी छोड्ने कोशी प्रदेश समिति सदस्य सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश समिति सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ता थिए ।
२०८० पुस १४ मा रास्वपा सुदूरपश्चिमका उपसभापति सृष्टि महरा र महामन्त्री भोजराज जोशीले पदबाट राजीनामा दिएका थिए ।
यसैगरी, २०८१ असार १२ मा प्यूठान जिल्ला सभापति सुमन सुवेदीले पार्टी परित्याग गरे भने चितवनका जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पनि २०७९ माघमै पार्टी छाडेका थिए ।
२०८० माघमा बर्दिया जिल्लाका २१ जनाले पार्टी परित्याग गरेका थिए । त्यस्तै, मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहितका नेताहरूले पार्टी परित्याग गरिसकेका छन् । २०८१ भदौमा दाङका १ सयभन्दा बढी युवाले एकसाथ रास्वपा परित्याग गरेका थिए ।























