काठमाडौँ – सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजना ठेक्का सम्झौताको म्याद सकिनै लाग्दा विस्तारको काम ५० प्रतिशत मात्रै सकिएको छ । काम सम्पन्न हुनुपर्ने वेलामा ठेकेदारहरू म्याद थपका लागि दौडधुप गरिरहेका छन् ।
झन्डै १६ किलोमिटर सडक विस्तारको काम तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, हालसम्म औसतमा ५० प्रतिशत मात्रै काम सकिएको छ । अहिले ठेकेदारहरू आयोजनाको म्याद डेढ वर्षसम्म थप्नका लागि दौडधुप गरिरहेका सडक विभागले जनाएको छ ।
काठमाडौंलाई उत्तर र पूर्वमा जोड्ने यो सडक विस्तारका लागि ७.५ किमि लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किमि सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो । सूर्य विनायक–साँगाको म्याद मंसिरमा र साँगा–धुलिखेलको म्याद पुसमा सकिँदै छ । तर, सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडकखण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको भए पनि तोकिएको समयमा नसकिने निश्चित छ ।
सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माणकार्य प्रभावित भएको थियो । आयोजनाका लागि चालू आर्थिक वर्षमा ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । आयोजनाले करिब चार अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । दुर्व प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डलाई ६ लेनमा विस्तार गर्न २४ पुस ०७९ मा दुई खण्डमा बाँडेर ठेक्का सम्झौता भएको थियो ।























