काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका हुन् ।
स्रोतका अनुसार नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।
आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकारेका छन्।
प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाँउ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा आफ्नो पत्नी चयन भएको उनले स्वीकारेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सम्हालेका मन्त्रालयहरूमा प्रमुख स्वकीय सचिवको हैसियतले आफूले समन्वय गरिरहनुपरेको भन्दै उनले ती निकायमा नियुक्त भएका र जिम्मेवारी पाएका कतिपय व्यक्तिहरूको नाम समेत आफूसँग जोडिएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरेका छन् ।
नियुक्तिहरूमा आफू र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम जबर्जस्ती मुछ्न खोजिएको भन्दै उनले बहालवाला सचिवका परिवारका सदस्य र निजामती सेवामा कार्यरत केही व्यक्तिहरूलाई पनि आफूसँग जोडेको गुनासो गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा रहेका अर्का एक कर्मचारीले विगतका प्रधानमन्त्रीले सचिवालयमा ९४ जना कर्मचारी राखेकोमा अहिले २६ जनाबाट काम चलाइएको बताएका छन् ।























