काठमाडौँ – प्रतिनिधिसभा विघटन र सरकारको संवैधानिक हैसियतमाथि निरन्तर प्रश्न उठाउँदै संसद् पुनर्स्थापनाउन्मुख गतिविधि गर्दै आएको एमालेले चुनावी तयारी पनि जारी राखेको छ । २१ फागुनमा हुने आमनिर्वाचनका लागि राजनीतिक दल दर्ताको गृहकार्य गरेको छ । अहिलेको सरकार संविधानबाहिरबाट गठन भएको आरोप लगाए पनि एमालेले चुनावकेन्द्रित सरकारी बैठकमा भाग लिँदै आएको छ ।
पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाइरहेको एमालेले आयोगमा चुनावी प्रयोजनका लागि दल दर्ताको तयारी गरेको हो । एमाले निर्वाचन विभागका अनुसार दल दर्ताका लागि तयारी भइरहेको छ। एमाले संवैधानिक पार्टी हो । त्यसैले आफ्नो इन्स्टिच्युसनहरूलाई अद्यावधिक गर्ने हो तर, नहुने चुनावको पछि नलाग्ने जनाइएको छ ।
२१ फागुनको निर्वाचनका लागि आयोगले दल दर्ताको समय १० मंसिरसम्म तोकेको छ । आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै एमालेले आयोगमा दल दर्ता गराइसकेको छ । अर्कोतर्फ प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित आन्दोलनमा रहेको एमालेले कानुनी लडाइँमा पनि जाने निर्णय लिइसकेको छ । पुनर्स्थापनाका लागि रिट निवेदन दर्ता गर्न निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मेवारी दिइएको छ । यसअघि केही कानुन व्यवसायीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि रिट दर्ता गराइसकेका छन् ।
निर्वाचनका कानुनी प्रक्रिया जारी राखे पनि एमालेका शीर्ष नेताका अभिव्यक्ति भने निर्वाचनको पक्षमा छैनन् । शनिबार काठमाडौंमा बृहत् शक्ति प्रदर्शनमा एमाले अध्यक्षसहितका नेताले वर्तमान सरकार निर्वाचन गराउन गठन नभएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनामै जोड दिएका छन् ।
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ‘संविधानभन्दा बाहिरबाट नियुक्त प्रधानमन्त्री’ले २१ फागुनमा चुनाव गराउने अधिकार नै नराख्ने दाबी गर्दै प्रश्न तेर्साएका छन् । सभामा ओलीले भने, ‘अहिले अनधिकृत व्यक्तिको अराजकतामा आधारित उत्पातबाट सिर्जना भएको सरकार चलिरहेको छ । प्रधानमन्त्रीलाई सोध्न चाहन्छु– तपाईं लोकतन्त्र र जनतामा विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न ? के यसैगरी सरकार बन्छ ? फागुन २१ मा चुनाव गराउने ढाँट कुरा नगर्नुहोला ? तपाईंलाई त्यो चुनाव गराउने अधिकार छैन । चुनाव गराउने तपाईं को हो ? कसले दियो अधिकार ?’
ओलीले प्रधानमन्त्रीलाई संविधानले चुनाव गराउने कुनै अधिकार नदिएकाले उनी जतिसक्दो छिटो पदबाट हट्नुपर्ने माग गरे । ओलीले भावनामा बगेर अन्तरिम सरकारले जे–जे भन्छ, उसैको पछि–पछि नकुद्न अन्य दलहरूलाई आग्रह गरे । ‘आग्रह–पूर्वाग्रह अनि प्रतिशोध साधेर लोकतन्त्र गएकोमा ताली नपिट्नुस् । राजनीतिक यथार्थ धरातलमा टेकेर अघि बढ्नुस्,’ ओलीले भने, ‘कोही पनि दल भावनामा नबग्नुस्, चुनाव हुन्छ भनेर बिहेमा जन्तीजसरी असंवैधानिक सरकारको पछिपछि नकुद्नुस् ।’
ओली संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउने काममा सहयोग गर्न प्रधानमन्त्रीसँग माग गरे । ‘१२५ दलको हुलमा चुनावसम्बन्धी छलफल ड्रामाबाहेक अरू के हो रु त्यस्ता ड्रामा छोड्नुस्,’ ओलीले भने, ‘चुनाव गर्ने हो भने अपराधीहरू पक्राउ गर्नुस्, हतियार फिर्ता ल्याउनुस् । सहजताका साथ लोकतन्त्र फर्काउने मार्गमा आउनुस् । मान्नुभएन भने जनताले पुनर्स्थापना गराइछाड्नेछन्, त्यसको अगुवाइ एमालेले गर्छ ।’
काठमाडौंमा भएको सभालाई ओलीले भोट माग्न गरेको नभई लोकतन्त्र बचाउन गरेको दाबी गरे । ‘यो भोट माग्न होइन, देश, लोकतन्त्र बचाउन गरिएको सभा हो । जबसम्म संसद् पुनर्स्थापना हुँदैन तबसम्म आगामी दिनमा अझ सशक्त सभाहरू गर्दै जानेछौँ,’ ओलीले भने ।
अर्को एक प्रसंगमा ओलीले व्यवसायी दुर्गा प्रसाईंले जारी गरेको क्यासेटबारे जवाफसमेत मागे । ‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनुपर्दैन ? मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्छ ।’
ओलीले देशका सबै टोल–टोलमा सुरक्षा समिति बनाउन पार्टीपंक्तिलाई निर्देशित पनि गरे । ‘एक ठाउँबाट अर्को ठाउँसम्म सुरक्षित ढंगले हिँडडुल गर्ने अवस्था छैन । राज्यले सुरक्षा दिन सकिरहेको छैन, त्यसैले अब टोल–टोलमा सुरक्षा समिति बनाएर आत्मसुरक्षा गर्नुस्,’ ओलीले भने ।























