images
images
  • प्रतिनिधिसभा निर्वाचनमा १० लाख बढी मतदाताले पहिलो पटक मतदान गर्ने

    काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा भएपछि १० लाख १६ हजार ७५४ जना मतदाता थपिएका छन् । सरकारले अध्यादेशबाट नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता १० लाख १६ हजार ७५४ जना मतदाताले नामावली दर्ता गराएको आयोगले जनाएको छ । थपिएका १० लाख बढी मतदाता आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् ।

    भदौ २७ गते निर्वाचन घोषणा भएलगत्तै गृह मन्त्रालयले मतदाता नामावली दर्ता खुलाउन निर्वाचन आयोगसँग आग्रह गर्दै कानुन संशोधनको तयारी ग¥यो । आयोगको सुझावमा सरकारले अध्यादेशमार्फत कानुन संशोधन ग¥यो । अध्यादेशले ‘प्रतिनिधि सभाको कार्यकाल पुरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा त्यस्तो निर्वाचनको प्रयोजनका लागि अवधि तोकी मतदाता नामावली सङ्कलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको थियो । सुरुमा कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको आयोगले सरकारको आग्रहमा सो म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो ।

    आयोगको वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट तीन लाख ४४ हजार ९१४ जनाले नामावली दर्ता गराएका छन्, जसमध्ये एक लाख ९२ हजार ८९० जना पुरुष, एक लाख ५१ हजार ९८० जना महिला तथा ४४ जना अन्य मतदाताले नामावली दर्ता गराएका छन् ।

    आयोगका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट चार लाख ९२ हजार १८० जनाले नामावली दर्ता गराएका छन्, जसमध्ये दुई लाख ८० हजार ३६५ पुरुष, दुई लाख ११ हजार ७९८ महिला र १७ अन्य छन् ।

    प्रविधिको उपयोगले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज र सरल बनाएको जनाइएको छ । आयोगको पोर्टलबाट करिब ५५ दिनमा दर्ता भएको सङ्ख्याभन्दा करिब एक लाख ५० हजारभन्दा बढी नागरिकले पञ्जीकरण विभागबाट सुरु भएको एक सातामै नामावली दर्ता गराएका छन् ।

    आयोगको कात्तिक १८ गतेसम्म अद्यावधिक विवरण अनुसार मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० जना रहेकोमा मङ्सिर ५ गतेसम्म आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मतदाताको सङ्ख्या एक करोड ९० लाख पाँच हजार ३२४ पुगेका छन् । अन्यतर्फ यसअघि १८७ मतदाता रहेकोमा सो सङ्ख्या २४८ पुगेको छ ।

    आयोगले मङ्सिर २१ गतेदेखि २७ गतेभित्र अद्यावधिकका लागि निवेदन दिन आग्रह गरेको छ । सो अवधिभित्र परेको दाबीविरोध, दोहोरिएको नाम हटाउने, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन निवेदन परेपछि आयोगले सोमाथि छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images