काठमाडौं – राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आवश्यक संशोधनका साथ स्वीकृत पनि गरेको छ। उक्त प्रतिवेदनलाई राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय भएको रक्षा परिषद् सचिवालयले जानकारी दिएको छ।
बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरू तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरू र अपनाउनुपर्ने भाबी रणनीतिका सम्बन्धमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उपस्थित थिए।























