काठमाडौं – सोमबार मध्यराति मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियान चलाउँदै आएका दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गर्यो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसाईंलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन् । अहिले सामाजिक सञ्जालमा ओलीले प्रसाईं पक्राउप्रति आपत्ति जनाएको विषयमा आलोचना भइरहेको छ ।
आलोचना यसकारण कि उनै ओली प्रधानमन्त्री भएका बेला प्रसाईं पटक(पटक पक्राउ परेका थिए । ओली प्रधानमन्त्री भएका बेला प्रसाईं २०८१ असोज, मंसिर र चैत महिनामा पक्राउ परेका थिए । उनलाई २०८१ सालको असोज ६, मंसिर ४ र चैत २९ गते प्रहरीले पक्राउ गरेको थियो । त्यो समयमा मुलुकको प्रधानमन्त्री ओली थिए ।
लरेन्स विश्नोई प्रकरण, ओलीको इन्डोनेसियामा अवैध लगानी रहेको भ्रम फैलाएको आरोपमा साइबर क्राइम मुद्दामा र तीनकुने घटनामा जोडिएको भन्दै ओली नेतृत्वको सरकारले प्रसाईंलाई पक्राउ गरेको थियो । तर पछि तीनैवटा मुद्दामा उनी धरौटीमा छुटेका थिए ।
कुनै समय माओवादी, एमाले लगायत पार्टीमा समेत जोडिएर राजनीति गरेका प्रसाईं पछिल्लो समय भने उनी आफैंले व्यवस्था र संविधान नै परिवर्तन गर्ने भन्दै अभियान चलाइरहेका छन् ।
ओलीले आफ्नो कार्यकालमा प्रसाईंलाई पक्राउ गरेको घटना धेरैले सम्झिरहेका बेला उनैले बुधबार प्रसाईंलाई सरकारले आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको आरोप समेत लगाए । ओलीले समग्र सरकारको आलोचना गर्दै मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताएका छन् । ।
सोही प्रसंगमा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईंलाई समात्नु मानव अधिकारको उल्लङ्घन भनिसकेको अवस्थामा सरकारले उनलाई थुनिराख्न नमिल्ने भन्दै तत्काल छाड्नुपर्ने बताए ।
त्यति मात्रै होइन, ओलीले प्रसाईंले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन भन्दै प्रधानमन्त्री कार्की र सरकारलाई प्रश्न गरेका छन् । उनले स्मरण गराउदैँ भने प्रसाईंले जेनजी आन्दोलनका क्रममा के(के भएको थियो र त्यसमा क-कसको संलग्नता थियो भन्दै सुशीला कार्की नेतृत्वको सरकारमा रहेका पात्रहरुका बारेमा आक्रमक भिडियो र अभिव्यक्तिसहित चर्चा गरेका थिए । साथै, उनले सिंहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो रु ७५ जनाको ज्यान कसरी गयो रु मल्ल होटल अगाडि गाडीभित्र बसेर क–कसको कुरा भएर प्रधानमन्त्री चुनियो रु बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अप्रेसन गरिएको थियो रु भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत मुछेर भिडियो सार्वजनिक गरेका थिए ।
उक्त भिडियो सार्वजनिक गरेको दुई दिन नबित्दै प्रसाईंलाई मध्यराति प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले मंसिर ७ गतेबाट हिन्दु राष्ट्र स्थापनार्थ आन्दोलनको घोषणा समेत गरेका थिए । व्यवस्था परिवर्तन गर्ने भन्दै उनले आन्दोलन अवधिभरका लागि सर्वसाधारणलाई खानेकुरादेखि ग्यास मट्टितेल समेत जोहो गर्न, राजमार्गहरु बन्द गर्न आहन गरेका थिए । प्रसाईंका यस्तै गतिविधि र अभिव्यक्तिले मुलुकको शान्ति सुरक्षामाथि खतरा देखेर सरकारले उनीमाथि एक्सन लिएको सरकारी अधिकारीहरुको दाबी छ ।
पक्राउपछि प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्दको कसुरमा म्याद लिएर काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले म्याद लिएको बिहीबार तेस्रो दिन भएको छ ।
त्यसो त जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली पनि पछिल्लो परिवर्तनप्रति सहिष्णु छैनन् । ओली सरकारकै समयमा जेनजी आन्दोलनमा युवाहरु मारिएको भन्दै उनलाई समेत पक्राउ गर्नुपर्ने जेनजीहरुको माग भइरहेको छ । तर ओली जेनजी विद्रोहलाई कुनै पनि किसिमको आन्दोलन, विद्रोह वा क्रान्ति मान्न तयार छैनन् । बरु ओलीले जेनजीका नाममा विभिन्न स्वार्थ समूहहरुको घुसपैठ भएर भदौ २३ र २४ को ध्वंसात्मक घटना हुन पुगेको बताइरहेका छन् ।
यसरी गर्दा जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण र विश्लेषणमा ओली र प्रसाईंबिच समानताजस्तै देखिन्छ । जसकारण प्रसाईं पक्राउको विपक्षमा ओली उभिन पुगेको जानकारहरु बताउँछन् ।























