काठमाडौं – नेकपा एमालेका नेता तथा कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण अशान्त बाराको सिमरा बजार आज पनि तनावग्रस्त बनेको छ ।
सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार जेनजीको हिजोको प्रदर्शनको नेतृत्व गरेकाहरूसँगको समझदारीअनुसार दुईजनालाई पक्राउ गरिएको छ । तर, आज पनि प्रदर्शन नरोकिएपछिसडक खुलाउन खोज्दा झडप भएको र प्रहरीमाथि चारैतर्फबाट आक्रमण भएपछि अहिले प्रहरी पछि हटेका जनाइएको छ । सडकमा प्रदर्शनकारी जम्मा भएर नारावाजी गरिरहेका छन् ।
हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ । प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ ।
प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् ।























