बारा-जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।
गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ(बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२स्३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।
एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।सिमरा एयरपोर्टमा जेनजीले विरोधको कार्यक्रम गरिराख्दा युवा संघका कार्यकर्तासँग भानाभान भएको थियो । त्यस क्रममा प्रहरी र जेनजीबीच झडप भएको हो ।झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजन गरेको छ । कार्यक्रम सम्बोधन गर्नका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् । उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।
हेर्नुहोस् कर्फ्यू आदेशः
आक्रोशित समूहले सिमरा विमानस्थलको गेट तोड्यो
नेकपा एमालेका कार्यकर्ताहरुसँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ । केही युवाहरु विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका हुन् ।
विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए । युवाहरुले विमानस्थलको गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट ती प्रहरीहरुले रोक्न खोजेका थिए । तर प्रहरीहरुले सकेनन् । गेट भाँचिएर प्रहरीकै माथि खसेको थियो । त्यसपछि केही युवाहरु भित्र छिरेका थिए । तर केहीबेरमै उनीहरुलाई प्रहरीले बाहिर निकालेको थियो ।

बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली बारा जाँदै छ । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको थियो ।
त्यसपछि आक्रोशि समूह एमाले नेताहरु विमानस्थल आउन लागेको सूचना पाएपछि आक्रोशित केही युवाहरु विमानस्थलको गेट फुटाउँदै भित्र प्रवेश गरेका थिए । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।























