images
images
  • बाराको जितपुरसिमरामा एमाले र जेन–जीबिच झडप

    महासचिव शंकर पोखरेल आगमनको तयारी हुँदै गर्दा तनाव, प्रहरीको ठूलो फोर्स परिचालन

    जितपुरसिमरा-बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ को सिमराचोक बुधबार बिहान राजनीतिक तनावको केन्द्र बन्यो। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुद्ध एयरबाट सिमरा विमानस्थलमा अवतरण गर्न लागेका सूचना सार्वजनिक भएपछि जेन–जी आन्दोलन समर्थन युवाहरूले गरिएको विरोधले वातावरण तातेपछि एमाले समर्थक र जेन–जीबिच झडप भएको हो।

    बुधबार बिहान १०ः ३० बजे पोखरेल र बस्नेत सिमरा विमानस्थलमा आइपुग्ने कार्यक्रम थियो। यसबारे जानकारी मिलेसँगै जेन–जी आन्दोलनमा संलग्न युवाहरू सिमराचोकमा जुलुससहित नाराबाजी गर्दै विरोध गर्न थाले।

    जेन–जी पक्षको आरोप थियो कि एमाले नेतृत्वले आन्दोलनलाई गलत ढंगले प्रस्तुत गर्दै राज्य शक्ति प्रयोग गरेर दमन गर्न खोजिरहेको छ। उनीहरूका अनुसार जनआन्दोलन, भ्रष्टाचारविरोधी अभियान र प्रणालीगत सुधारको मागलाई बदनाम गर्ने प्रयास भइरहेकाले एमाले नेताहरूमाथि शान्तिपूर्ण विरोध आवश्यक भएको बताइयो।

    एमाले समर्थकहरू भने पोखरेल र बस्नेतको स्वागतका लागि स्थानीय रूपमा तयार गरिएको कार्यक्रमलाई विघ्न पुर्‍याउने जेन–जी पक्षको प्रयास अस्वीकार्य भएको भन्दै प्रतिकार जनाउन अघि बढे।विरोध र प्रतिकार मिल्दै जाँदा दुई समुह आमनेसामने आएसँगै वातावरण एकाएक तनावपूर्ण बन्दै गयो।

    झडपको सबैभन्दा प्रत्यक्ष दृश्य सिमराचोकमा देखियो, जहाँ एमाले समर्थकले बनाएको स्वागतद्वार जेन–जी समर्थक युवाहरूले च्यातेर भत्काइदिए। स्थानीयहरूका अनुसार करिब १०–१५ मिनेटजति दुई पक्षबीच घच्घची, धक्का–मुक्की र तोडफोड चलेको थियो। केही युवाले बाटोमा रहेका होर्डिङ र पोस्टर पनि फालफाल गरेको देखिएको थियो।

    यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरी ठूलो संख्यामा खटियो। बारा प्रहरीले स्थिति नियन्त्रणमा ल्याइसकेको दाबी गरेको छ। सिमरा विमानस्थल क्षेत्र र सिमराचोक क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकारीका अनुसार “दुवै पक्षबीचको झडप तत्काल नियन्त्रणमा लिन थुप्रै टोली परिचालन गरियो। अहिले स्थिति पूर्ण नियन्त्रणमा छ, कुनै ठूला क्षति वा घाइतेको आधिकारिक विवरण आएको छैन।”

    प्रहरीले सम्भावित थप भिडन्त रोक्न संवेदनशील स्थानमा निरन्तर गस्ती बढाएको छ। तनाव सुरु हुँदा महासचिव पोखरेल र नेता बस्नेत दुवैजना सिमरा विमानस्थलमा अवतरण हुनै बाँकी थिए।

    स्थानीय प्रशासनले उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै उता–उता सञ्चार समन्वय वाढाएको छ। उच्च संवेदनशीलता र परिस्थितिको चापलाई हेरेर उनीहरूलाई अवतरण तालिका परिवर्तन गर्ने कि पूर्ववत् राख्ने भन्नेबारे केन्द्रीय नेतृत्व र सुरक्षा निकायबीच छलफल भइरहेको बताइएको छ।

    जेन–जीको आक्रोश “हामीलाई डरलाग्दो समस्या बनाइयो” जेन–जी पक्ष आक्रोशित छ। उनीहरू भन्छन्-भ्रष्टाचारविरुद्धको मागलाई ‘राष्ट्रविरोधी’ भनेर चरित्रहत्याको प्रयास भइरहेको छ

    आन्दोलनकारी युवाहरूमाथि अनावश्यक पक्राउ, निगरानी र डर देखाएर राज्यले निषेधात्मक वातावरण बनाएको छ।

    “हामी सडकमा भ्रष्टाचारविरोधी आवाज उठाउँदा संयमित रूपमा उभिएका छौँ। तर अरू दलहरूले हामीलाई अराजक र हिंस्रक भनेर देखाउन खोजिरहेका छन्। त्यसकै विरोधमा आज हामी उभिएका हौँ।”

    उता एमाले समर्थकहरूले भने जेन–जी समूहको आजको गतिविधिलाई पूर्वनियोजित अराजकता भनेका छन्।

    जितपुरसिमरा एमाले युवा सदस्यका अनुसार “शान्तिपूर्ण स्वागत कार्यक्रम भइरहेको थियो। तर जेन–जीले उद्देश्यपूर्वक हमला गरे, स्वागतद्वार भत्काए, अपमानजनक नारा लगाए। हामीले प्रतिकार मात्र गरेका हौँ।”

    एमाले पक्षले जेन–जी आन्दोलनलाई बाह्य शक्तिले प्रयोग गरेको, देश अस्थिर बनाउने सुनियोजित योजना ठड्याइएको र यसको राजनीतिक अभिप्राय स्पष्ट भएको आरोप छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images