- घटना एक
नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदै २९ कात्तिकमा प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताइन । कार्कीले यस्तो बताईरहदा उनी प्रधानमन्त्री नियुक्त भएको ६४ दिन भएको थियो ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०५९ को दफा ५० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) मा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति सम्बन्धी व्यवस्था छ । ऐनहरूले गरेको व्यवस्थाअनुसार पदमा नियुक्ति भएको मितिले ६० दिनभित्र र हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनमै सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्छ । भलै, बुझाएको सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्छ भन्ने कानुनी बाध्यता चाहिँ छैन ।
तर ०४८ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा सहभागीहरुको सम्पत्ति विवरण ६० दिनभित्र सार्वजनिक गर्ने निर्णय गर्दै थिति बसाएको थियो । सरकार र उच्च तहको सार्वजनिक पद धारण गरेपछि सुशासन, पारदर्शिता र जवाफदेहिताको कसीमा आफूलाई खरो उतार्न सम्पत्ति विवरण सार्वजनिक गर्नु आधारभूत नैतिकता हो ।
नेताहरुको दोगला चरित्रको परिणाम तीन महीनामा नेपालीहरुले ६४ अर्ब ५९ करोड रुपैयाँ विदेशमा लगेर खर्च गरे । युवा र पूँजी दुवै पलायनको प्रमुख कारण नेताहरुको दोगला चरित्र हो ।
भनिरहनै परेन, सुशीला कार्की नेतृत्वको सरकार भ्रष्टाचारविरोधी नवयुवाहरुको विद्रोहबाट गठन भएको हो । नवयुवाहरुको विद्रोहको प्रमुख माग नै सुशासन र पारदर्शिता थियो । सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी र राष्ट्रसेवकको पारदर्शितामाथि नागरिकहरुले गम्भीर प्रश्न गरिरहेका छन् । तर, त्यही आन्दोलनको जगमा ६७ दिन अघि गठन भएको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण भने गोप्य राखिएको छ ।
खरो मिजास र कडा प्रस्तुतिकी धनी मानिन्छिन् प्रधानमन्त्री सुशीला कार्की । भ्रष्टाचार नगर्ने, कसैलाई अनावश्यक चिप्लो नघस्ने उनको सार्वजनिक छवी थियो । तर, सम्पत्ति विवरण सार्वजनिक गर्न भने उनले खुट्टा चिप्लाइरहेकी छन् । अर्थात नवयुवाहरुको विद्रोहको जगमा प्रधानमन्त्रीको कुर्सीमा पुगेकी कार्कीको पनि बोली र व्यवहारमा दोगला चरित्र देखिएको छ ।
- घटना दुई
पूर्वप्रधानमन्त्री तथा नेकपा माले, एमालेका पूर्वमहासचिव, पूर्वअध्यक्ष झलनाथ खनालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको (माओवादी केन्द्र) सँग एकता नगर्ने भनेर नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी, केन्द्रीय समिति बैठकमा बबण्डर मच्चाए । उनले बैठकमा एकता गर्ने नहुने प्रतिवेदन नै पेस गरेका थिए । केन्द्रीय समिति बैठकको बहुमतबाट अध्यक्ष माधव नेपालले एकताको प्रस्ताव पारित गर्दा खनालले गम्भीर असहमति जनाएका थिए । आफूसहितले नेकपा (एकीकृत समाजवादी) लाई नै पुर्नगठन गर्ने उनको दाबी थियो । एकतामा सहभागी नहुनेहरुको भेलामा समेत खनाल उपस्थित भएका थिए ।
तर, १८० डिग्रीको फन्को मार्दै उनले यसरी रङ बदले कि सायद त्यति छिट्टो रङ बदल्न छेपारोले पनि नभ्याउँला । खनालले रातारात नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकोमा पुगेर कानेखुशी गरे । अनि १९ कात्तिकमा प्रचण्ड, माधव नेपाललगायत नौरङ्गी पार्टी–समूहहरुबीच भृकुटीमण्डपमा एकता घोषणा हुँदा भने अलिकति पनि असहज नमानी खनाल सहभागी भएर ‘समाजवाद’ को व्याख्या गरिदिए । अझ् त्यतिले पनि नपुगेर उनले पार्टीहरु फुट्नै नहुने उपदेश दिए । जबकि त्यसको केही अघि मात्र खनालले सिद्धान्त, बिचार महत्वपूर्ण हुने भएकाले त्यसको रक्षाका लागि फुट् ठूलो कुरा नभएको बताएका थिए । प्रचण्डसँग एकता गर्नुभन्दा माक्र्सवादी विद्यालय खोलेर आर्यघाटमा जाने खनालको अभिव्यक्ति थियो ।
- घटना तीन
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा संसद पुर्नस्थापनाको मुद्दा जोडतोडका साथ उठाइरहेका छन् यतिबेला । नवयुवाहरुको विद्रोहले उत्कर्ष रुप २४ भदौमा लिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा भंङ्ग गर्ने सहमतिसहित सुशीला कार्कीलाई प्रधानमन्त्रीको शपथ खुवाएका थिए । जब कि चार महीनापछि २१ फागुनमा निर्वाचनको मिति तोकिसकिएको छ ।
वर्तमान समस्याको निकास संसद पुर्नस्थापना होइन, निर्वाचन नै हो भनेर नवयुवाहरुले मात्र होइन, एमालेकै बहुमत नेताहरुले जिकिर गरिरहेका छन् । तर ओली आतंक अघि मुख फोरेर बोल्न डराइरहेका छन् । नेकपा नामको पार्टीभित्रको काउसो किचलोका कारण दुई–दुई पटक संसद विघटन गर्ने ओली नै हुन् । त्यसबेला संसद विघटन गर्न न कुनै आन्दोलनको रापताप थियो न त ओली सेनाको उद्धारमा प्रधानमन्त्री निवासबाट हेलिकोप्टरमा कतै भाग्नु परेको थियो ।
बरु ओलीको अहंकार झोंकमा प्रतिनिधिसभालाई नै भङ्ग गरिएको थियो । भलै दुई पटक नै अदालतले संसद पुर्नस्थापना गरिदिएको थियो । आफ्नो व्यक्तिगत सनकमा दुई–दुई पटक संसद विघटन गर्ने ओली यसबेला त्यही मुखबाट थोरै पनि सरम नमानी पुर्नस्थापनाको रटान लगाइरहेका छन् ।
यी तीन घटना केवल प्रतिनिधि उदाहरण मात्र हुन्, सरकारको उच्च पदमा पुगेका, राजनीतिक नेताहरु दोगला चरित्रका नायक हुन् भन्ने खुट्याउन । आफैं र आसेपासेहरुबाट गणतन्त्रका नायक घोषणा गरिएका प्रचण्डदेखि पञ्च ‘हस्ती’ कमल थापा, राजेन्द्र लिङदेनसम्म सबैको दोगला चरित्र आफ्नो सामथ्र्य बनेको छ । आफ्नै बचन, प्रतिवद्धता, सिद्धान्त, विचार, नीति, निष्ठा धरातलीय यथार्थ सबै–सबै भुलेर नैतिक–अनैतिकको सीमा बिन्दु, बारबन्जेज पुरै भत्काएर आफ्नो अनुकूलतामा मात्र बोल्नु, चल्नु, व्यवहार देखाउनु दोगला चरित्र हो । नेताहरुको यही दोगला चरित्र नेपालको राष्ट्रिय परिचय बन्न पुगेको छ ।
नेपालका नेताहरुको राजनीतिक संस्कार, संस्कृतिप्रति चासो राख्ने स्वदेशी मात्र होइन, विदेशीहरुले समेत ‘तिमीहरुका नेता आफ्ना बचन र कर्ममा परिपक्क छैनन्, बचन फेरिरहन्छन्, दोहोरो चरित्र देखाइरहन्छन्’ भनेर खिसिट्युरी गर्छन । नेपालप्रति चासो राख्ने सितिमिति नबोल्ने स्वभावका चिनियाँ प्राध्यापकहरुले अनौपचारिक संवादमा नेपालका नेताहरुलाई दोगला चरित्रको उपमा दिँदा यो प्रतिनिधिसमेत लज्जित हुनु परेको छ । मुलुकको बागडोर सम्हालिसकेका पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई (विद्यावारिधि), केपी ओली, पूर्वउपप्रधानमन्त्रीहरु बामदेव गौतम, भीमबहादुर रावल, कमल थापा, राजेन्द्र लिङदेन, पूर्वमन्त्री रामकुमारी झाँक्री, संविधानसभा सदस्य अञ्जना विशंखेदेखि निवर्तमान प्रतिनिधिसभामा रास्वपाका मुख्य सचेतक सन्तोष परियारलगायत अरु सैकडौ दोगला चरित्रका अब्बल पात्र बनिरहेका छन् । उनीहरु प्रतिनिधि विम्ब दृष्टान्त मात्र हुन् । विडम्बना ! नेपालीहरुको नायकत्व नै दोगला चरित्रमा स्थापित भइरहेको छ । थप विडम्बना के भने शीर्ष नेताहरुको दोगला चरित्र दोस्रो पुस्ता, तेस्रो पुस्ता र नयाँ–नयाँ रुपमा उदाइरहेका राजनीतिक दलका नेताहरुमा समेत फैलदो छ ।
कोहीभन्दा कोही छैनन् कम
काठमाडौं बानेश्वरस्थित के एण्ड के कलेजमा पढाउने एमाले कार्यकर्ता भक्तपुर गुण्डुका सन्तोष परियार रवि लामछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेपछि लामो फड्को मार्दै त्यसको नेतृत्वमा पुगेका थिए । लामिछानेले उनलाई समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य मात्र बनाएनन्, संसदीय दलमा प्रमुख सचेतकको जिम्मेवारी समेत दिए, जो मन्त्री सरह सेवा सुविधा हुन्थ्यो । केही दिनअघिसम्म परियार रास्वपा परित्याग गर्नेहरुलाई व्यंग्य मात्र गर्दैनथे, आफ्ना सभापति लामछिानेलाई सिङ्गो राज्य नै लागेर अन्याय गरेको भन्दै न्याय दिलाएरै छाड्ने धमास दिइरहेका थिए ।
तर, नवयुवाहरुको विद्रोहपछि जब रास्वपा पनि ओरालो लागेको निष्कर्षमा पुगे, नयाँ संभावनाको क्षितिज नियाल्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मा संरक्षकत्वको प्रगतिशील रुपान्तरण अभियानमा पुगेका छन् । परियारले जे कारणले भट्टराई–शर्मा समूहमा पुगेको प्रष्टिकरण दिएका छन्, त्यो सार्वजनिक खपत वा बचाउका लागि मात्र हो । निष्ठा, इमान्दारिता र नैतिकतामा बस्ने मान्छे सामान्य हण्डरठक्कर खाँदैमा ३६० डिग्रीको फन्को मारिहाल्दैन ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई (विद्यावारिधि) समयको पदचापलाई बुझ्ने नेताको पहिलो रोहभित्रै पर्छन । उनले निकै वर्षदेखि नेताहरुलाई सुध्रन घच्घच्याईरहेका त थिए नै, नवयुवाहरुको आन्दोलनलाई वेथितिको बाध्यता भनेर सहज र सहस्र स्वीकार गर्ने नेता पनि भट्टराई नै हुन् । नेपाली राजनीतिमा संलग्न ७० को वयका नेताहरुमध्ये समयको पदचाप र गतिलाई बुझ्ने पहिलो अगुवा भट्टराई नै हुन् । ३० जेठ ०७३४ मा नयाँ शक्ति पार्टी सार्वजनिक गर्ने क्रममा नेपाललाई १०, १५, २०, २५ वर्षभित्रमा यो–यो स्तरभित्र पुर्याउन सकिन्छ भनेर भट्राईले योजना नै सार्वजनिक गरेका थिए । आग्रह–पूर्वाग्रह नराखी हेर्ने हो भने भट्टराई जतिका वौद्धिक र योजना बनाउने नेता वर्तमान नेपालमा अर्को देखिएको छैन ।
तर, सिक्काको विपरित पाटो भट्टराई तिनै व्यक्ति हुन्, जसले बुढीगण्डकी आयोजना तुहाउन प्रचण्ड, केपी ओली, देउवालगायतले नौ अर्बभन्दा बढी रकम दमपच बनाएको खुलासा गरेका थिए । प्रचण्डले आर्थिक स्रोतहरुको दुरुपयोग र अपचलन गरेकाले माओवादी विभाजित भएको खुलाएका थिए । प्रचण्डकै अगुवाईमा लडाकु शिबिरबाट करोडौ रुपैयाँ अपचलन भएको भट्टराईको दाबी थियो ।
त्यति मात्र होइन, ‘सशस्त्र द्धन्द्धकालमा सहिदको रगतसँग साटिएका हतियार आफू प्रधानमन्त्री भएका बेला प्रचण्डले भारतीयलाई बेच्न खोजेका थिए । त्यो थाहा पाएपछि नेपाली सेनाका तत्कालीन प्रधान सेनापति छत्रमानसिंह गुरुङलाई भनेर सेनालाई बुझाएको आफ्नो ‘अटोवायोग्राफी’ (अबिराम बाबुराम) मा भट्टराईले खुलासा गरेका छन् । तर, तिनै भट्टराईले ०७९ को निर्वाचनको सम्मुखमा उनै प्रचण्डसँग सहकार्य र एकताको सहमति गरे । प्रचण्डले ठूलै हम्मरले हानेपछि मात्र भट्टराई फेरि एकतामा सहमत हुन नसकेका हुन् । दोगला चरित्रकै परिणाम भट्टराई पनि बेलामौकामा आफ्नो अडानमा प्रष्ट अडिरहन सक्तैनन् ।
एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावल (विद्यावारिधि) लाई केपी शर्मा ओलीले साधारण सदस्यताबाट समेत बर्खास्त गरेपछि माधवकुमार नेपालले होस् वा प्रचण्डले आफ्नो पार्टीमा भित्रन बारम्बार आग्रह गरेका थिए । तर, त्यसलाई अस्वीकार गर्दै रावलले मातृभूमि जागरण अभियान सुरु गरे । उनले सुशासन र पारदर्शिताको खोजीमा रहेका विभिन्न समूहहरुसँग वार्ता–भलाकुसारी पनि गरिरहेका थिए । अन्ततः रावल नेपाली कम्युनिष्ट पार्टी नामको बुढ्यौली क्लबमै भर्ना भएका छन् । आफूसँग असहमत हुनेहरुलाई गालीका वर्षा बर्साउने मात्र होइन, राजनीतिक जीवनमा सिध्याइदिने रावल पनि दोगला चरित्रबाट बाहिर छैनन् । जे भनिन्छ, त्यो नगर्ने, जे गरिरहेको छ, त्यो छिपाउन प्रयत्न गर्ने दोगला चरित्रबाट अलग नेताहरु नै पाउन कठिन भइसकेको छ ।
निष्ठा, नैतिकता र नीति हुन्थ्यो भने पूर्वमन्त्री रामकुमारी झाँक्रीले बरु राजनीतिबाटै सन्यास लिने थिइन । किनभने प्रचण्ड र माधव नेपालको पछि लागेर झाँक्रीले एमाले र त्यसका अध्यक्ष ओलीलाई जे–जसरी ललकारेकी थिइन, अहिले ओलीकै प्रशस्तिमा जुटिरहेकी छन् । यो दोगला चरित्र त हो नै, राजनीतिक निष्ठाको दुःखद विडम्बना पनि हो ।
माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, राम कार्कीले १८ कात्तिकमा प्रचण्डसँग अलग भएर प्रगतिशील रुपान्तरण अभियान घोषणा गर्दा संविधानसभा सदस्य अञ्जना विशंखेले उनीहरुसँगै आसन जमाएकी थिइन । कार्कीले अञ्जनाको नाम लिँदै प्रचण्डसँगको असहमतिको लहरमा उभिएकोमा खुसी पनि प्रकट गरेका थिए । तर, उनी पत्तै नदिई प्रचण्डकै खोपीमा फर्किइन । पूर्वमन्त्री शिवकुमार मण्डललगायत पनि यही लहरमा उभिए । भनिरहनै परेन, प्रचण्ड, ओली नेपाली कम्युनिष्ट आन्दोलनको मात्र होइन, नेपाली राजनीतिकै नीति कथाका घ्यु बेचुवा र तरबार बेचुवा हुन् । दोगला चरित्रमा उनीहरु एक अर्कामा कोही कम छैनन् ।
बरु नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामा दोगला चरित्र कम देखिन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहकै शब्दमा देउवा असक्षम अवश्य हुन् । पाँच पटक प्रधानमन्त्री हुँदा आफू जस्तैलाई उपचार (थेरापी) गर्ने एउटा गतिलो उपकरणसमेत राष्ट्रिय सम्पत्तिका रुपमा नजोडेका देउवाको नालायकी भनिसाध्य छैन । उनी नेपालका राष्ट्रिय समस्या हुन् । तर, यहाँ स्मरणीय के भने कमजोर क्षमताको हुनु र दोगला हुनुमा अन्तर छ ।
थुतुनो मात्र ट्याउँट्याउँ
नेपालका नेताहरुमा जे जति दोगाला चरित्र छ, अन्य देशका नेताहरुलाई नियाल्ने हो भने उनीहरु यति तल्लो तहका निकृष्ट छैनन् । आफ्नो व्यक्तिगत स्वार्थ अनुकूल मात्र छिनछिनमै रङ बदल्दैनन् । कम्तीमा राजनीतिक निष्ठा, देशभक्ति र आफ्नो मुलुकको समृद्धिको दीर्घकालीन योजनामा टिकेका हुन्छन् । तर, अपवादलाई छाडेर नेपालका नेताहरु भने दोगला चरित्रले यति अभिशप्त छन् कि यथार्थ खोलिदिँदा पनि उनीहरुकै कुरा ठूलो हुन्छ । ट्याउँट्याउँ थुतुनो बाहेक उनीहरुमा पाँच वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्षमा नेपाललाई कति समृद्ध बनाउन सकिन्छ, कस्तो बनाउन सक्छु भन्ने योजना नै छैन ।
अधिवक्ता एव्म विष्लेषक विनोद कार्कीका भनाइमा राजनीति सिद्धान्त निष्ठाको भइदिएको भए नेताहरुमा यति धेरै दोगला चरित्र देखिने थिएन । नेताहरुले इमान, निष्ठाको भन्दा अवसरको राजनीति मात्र गरेकाले उनीहरु सबैमा दोगला चरित्र हाबी भएको कार्की बताउँछन् । “निष्ठाको राजनीति गर्नेले आफ्नो स्वार्थ मात्र हेरेनन्, राष्ट्रिय स्वार्थ हेरे । त्यसको एक उदाहरण दिवंगत पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नै हुन् । भट्टराईले कहिल्यै आफ्नो अडान फेरेनन् । तर, अर्का दिवंगत पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अघिल्लो दिनसम्म संवैधानिक राजतन्त्र भनेर भोलिपल्ट गणतन्त्र घोषणा गरिदिए”, कार्की भन्छन्, “संवैधानिक राजतन्त्र किन फाल्नु परेको हो भनेर जवाफ समेत दिएनन् । नेताहरुले निष्ठाको भन्दा अवसरको राजनीति गरेकाले उनीहरुमा एकदमै धेरै दोगला चरित्र छ ।”
हुन पनि अवस्था कस्तो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यसै पनि राजतन्त्र फर्काउनु पर्छ भन्ने अगुवा हुन् । भलै राजतन्त्र फर्काएर चाहिँ के हुन्छ ? भन्ने उनैलाई थाहा नहोला । त्यसमाथि मंसिर ०७९ मा निर्वाचन जित्दै गर्दा आफू सरकारमा नजाने उद्घोष गरेका थिए उनले । तर, त्यो अडानमा दुई महीना पनि टिक्न सकेनन् । ०७९ को माघ पहिलो साता उपप्रधान तथा ऊर्जा मन्त्रालय लिएर आफ्नै नेतृत्वमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गराए ।
उनको यस कदमको चर्को बिरोध भयो । यसपछि उनले आफ्नो फेसबुकमा लेखे, ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो ।’ उनले समर्थकलाई असम्भव जस्तो लागे पनि खरो उत्रने प्रतिबद्धता जाहेर गर्दै धैर्यता र सहयोगका लागि अपिल गरेका थिए । तर राप्रपा उपलब्धि शून्यमै सरकारबाट बाहिरिन बाध्य भयो ।
राजावादी अर्का नेता कमल थापाको मुसा प्रवृति र दोगला चरित्र त झन् पञ्चायतकालदेखि नै स्थापित छ । दोगला चरित्रकै कारण थापाले पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्म सत्तामा तर मार्न भ्याए । भलै उनले यसलाई आफ्नो गतिशिलताको उपमा देलान् । थापालाई नजिकबाट चिन्नेजान्नेहरुले उनको अनेक कमजोरीका बाबजुद पनि राजतन्त्रवादको लाइन भने छाडेको छैन भन्ने गरेका थिए । तर, कट्टर राजतन्त्र पक्षधर हुँदाहुँदै पनि गणतन्त्रपछि उपप्रधान र परराष्ट्रसहितको मन्त्रालय लिएर सत्तामा गए । शुभेच्छुक, शुभचिन्तकहरुबाट बचेखचेको सम्मान पनि गुमाए ।
दोगला चरित्रले अर्थ र युवा धमाधम पलायन
नेपाल राष्ट्र बैंकले हिजो आइतबार (३० कात्तिक) मात्र चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा आर्थिक विवरण सार्वजनिक गर्यो । राष्ट्र बैंकका अनुसार ०८२ साउनदेखि असोजसम्म तीन महिनामा नेपालीहरुले ६४ अर्ब ५९ करोड रुपैयाँ विदेशमा लगेर खर्च गरे ।
पछिल्ला तीन महिनामा नेपाली विद्यार्थी विदेश जाँदा मात्र ४२ अर्ब ९६ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली विदेश जाँदा ५५ अर्ब ४९ करोड रुपैयाँ विदेशिएको थियो । त्यसमा विद्यार्थीले मात्र ३२ अर्ब २२ करोड रुपैयाँ लगेका थिए । यो विकराल तथ्यांकले देखाउँछ, नेताहरुको दोगला चरित्रबाट नागरिकहरु अभिशप्त भएका छन् । पूँजी र युवा दुवै पलायनको क्रम बढ्दो छ ।
२३ र २४ भदौको नवयुवाहरुको विद्रोहले नेताहरुको दोगला चरित्रले नागरिकहरु कति उकुसमुकुस छन् भन्ने पुष्टि गरिसकेको छ । तर, मानौं २३ र २४ भदौमा विद्रोह भएकै थिएन । आधुनिक नेपालकै इतिहासमा सबैभन्दा बढी विध्वंस भएकै थिएन, छैन । आफूहरुले भागेर, लुकेर बालबाल जीवन बचाउनु परेकै थिएन, होइन झैं नेताहरुले सच्चिने छाँट देखाएका छैनन् । दोगला चरित्र अझैं प्रकट गरिरहेका छन् ।
झापा विद्रोहमा सहभागी विघटित एकीकृत समाजवादीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, जो ०४८ मा संखुवासभा र ०५६ मा भोजपुरबाट निर्वाचित भएका थिए, का भनाइमा नेताहरुको दिनदिनैको दोगला चरित्र देखेर जेनजीहरु वाक्क भएकैले २३ र २४ भदौमा उनीहरुले आन्दोलन, विद्रोह, ध्वंस गरेका हुन् । दोगला चरित्रका नेताहरु रुपान्तरित भएनन् भने उनीहरु लखेटिनुको विकल्प नरहेको बस्नेत बताउँछन् । “नेताहरुको दोगला चरित्रबाट वाक्क भएकैले जेनजी युवाहरु आन्दोलनमा, राजनीतिमा आएका हुन्”, उनी भन्छन्, “दोगला चरित्रका नेताहरुलाई जेनजीहरुले प्रष्ट चिनेका छन् । अब पनि नेतृत्वमा टाँसिइरहने प्रयत्न गरे, रुपान्तरित भएनन् भने उनीहरुलाई जेनजीहरुले लखेट्नेछन् ।” बस्नेत ०३३ साल चैत्रमा तत्कालीन नेकपा (माले) का महासचिव सीपी मैनालीको नेतृत्वमा भएको ‘नख्खु जेल ब्रेक’का सहकमाण्डर हुन् । झापा विद्रोहमा सहभागी भएवापत बस्नेतले जेलमा १७ वर्ष बिताउनु परेको थियो ।
२९ वर्षदेखि माओवादी आन्दोलनमा रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता शिव कट्टेलका अनुसार राजनीति गर्ने शीर्ष नेताहरुले सिद्धान्त र सत्य, निष्ठाको बाटो हिड्नु पर्छ भन्ने भुलेर अवसर रोज्न थाले । परिणाम राजनीतिक, आर्थिक, सांस्कृतिक सबै हिसाबमा देश पराश्रित हुँदै गयो । युवा पलायन बढ्यो । जो कोही नागरिकहरु निरास मात्र छैनन्, छट्पटिइरहेका छन् । त्यसैको परिणाम जेनजी विद्रोह र विध्वंस भएको कट्टेल बताउँछन् । “कुनै एउटा अमुक पार्टी मात्र होइन, सबै पार्टीका नेताहरु दोगला चरित्रका छन् । सिद्धान्त, देश, जनताप्रति अडिग नहुनु, आर्थिक उर्पाजनलाई मात्र केन्द्रमा राख्नु, मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने योजना र दृष्टिकोण नहुनुले नेताहरुमा दोगला चरित्र व्याप्त भएको हो”, कट्टेलको कथन छ, “पहिले–पहिले बाबुआमा मर्दा छोराछोरी टुहुरा हुन्थे । अहिले छोराछोरी बढेर पलायन भएपछि बाबुआमा टुहुरा भइरहेका छन् । यस्तो अवस्था अन्त्यका लागि नेताहरुले दोगला चरित्र परित्याग गरेर सिद्धान्त, निष्ठाको बाटो हिड्नुपर्छ ।”


माधव बस्नेत 




















