काठमाडौं– नेकपा (माओवादी केन्द)्र र एकीकृत समाजवादीसहित ८ घटकसँग एकता गर्ने निर्णयपछि जनार्दन शर्माले माओवादी केन्द्र छाडेर ‘प्रगतिशील राष्ट्रिय अभियान’ घोषणा गरेका छन् ।
अभियानले बिहीबार ३१ सदस्यीय केन्द्रीय संयोजन समिति सार्वजनिक गरेपनि जनार्दन शर्मा, राम कार्कीलगायत माओवादीबाट विद्रोह गरेका शीर्ष नेताहरूको नाम उल्लेख गरिएको छैन ।
जनार्दन पक्ष हाल आफ्नो पक्षमै को–को छन् भन्ने खुलाउन चाहँदैन ।
निर्वाचनको बेला मात्रै स्पष्ट रूपमा देखिने रणनीति बनाइएको स्रोतले बताउँछ ।
तर, उनको गृहजिल्ला रुकुम पश्चिममा भने शक्ति बलियो छैन ।
रुकुम पश्चिमका तत्कालीन माओवादी केन्द्रका १९ केन्द्रीय सदस्यमध्ये १७ जना संस्थापन पक्षमै छन् ।
जनार्दनलाई खुलेर साथ दिनेमा पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी मात्र छन् ।
दुवै जनार्दनका नातेदार हुन् ।
एक समय निकट मानिएका कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला अध्यक्ष सचिन रोका, केन्द्रीय सदस्य गोपाल शर्मा, लक्ष्मी पुनलगायतका नेता भने प्रचण्ड नेतृत्वको नयाँ एकीकृत कम्युनिस्ट पार्टीमै लागेका छन् ।
चौरजहारीकी मेयर पुष्पा वादी पनि हाल मौन छन् ।
रुकुम पश्चिममा बसोबास छोडेर दाङ गएका केन्द्रीय सदस्य जगप्रसाद (अपार) र नारायणी शर्मा भने जनार्दनकै पक्षमा छन् ।
नारायणी जनार्दनकी बहिनी तथा अपार फुपूका छोरा हुन् ।
ओम शर्मा (ज्वाइँ) पनि जनार्दन पक्षमै छन् ।
रुकुम पूर्वका ६ केन्द्रीय सदस्य तथा रोल्पा र सल्यानका १६–१६ सदस्यमध्ये एक जना पनि जनार्दन पक्षमा खुलेका छैनन् ।
जाजरकोटका १२ केन्द्रीय सदस्य पनि एकीकृत पार्टीकै पक्षमा छन् ।
तत्कालीन माओवादी केन्द्रमा कर्णालीका करिब ९० केन्द्रीय सदस्यमध्ये हालसम्म जम्मा ४ जना मात्रै जनार्दनको पक्षमा उभिएको स्रोतको दाबी छ ।
प्रचण्डसँग छुट्टिनुअघि कर्णालीमा जनार्दनको बलियो प्रभाव थियो भने अब आफ्नै जिल्लामा पनि कमजोर बनेको देखिन्छ ।























