काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल सुरु गरेका छन् ।
नयाँ राजनीतिक अभियान प्रारम्भ गर्ने तयारीसहित पार्टी छाडेका परियार र हाल माओवादीबाट टाढिएका शर्माबीच पछिल्ला दिनमा लगातार भेटवार्ता हुँदै आएको स्रोतले जनाएको छ ।
‘अहिले सन्तोष परियार र जनार्दनजीसँगै हुनुहुन्छ, उहाँहरूबीच गम्भीर छलफल भइरहेको छ,’ स्रोतले बतायो ।
यसैबीच, रास्वपाका नेता परियारले पार्टीको सदस्यता त्यागेको औपचारिक जानकारी गराएका छन् ।
उनले नयाँ अभियानमार्फत अगाडि बढ्ने निर्णय लिएको बताएका छन् ।
विघटित प्रतिनिधिसभामा परियार रास्वपाका प्रमुख सचेतकसमेत थिए ।
परियारले पार्टीको सदस्यबाट राजीनामा दिँदै पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।
पछिल्लो समय रास्वपाभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको अवस्थामा परियार पनि सक्रिय थिए ।
चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशन बोलाउन माग गरेका थिए ।
यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले समेत नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन् ।
पार्टी छोडेको घोषणा गर्दै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रूपमा आक्रमण गर्न सहज बनाइदिएको छु । मनलाग्दी गर्नुस्, मैले पार्टी छाडेँ ।’
उनले पार्टी परित्याग गरेसँगै विभिन्न समूहसँग छलफल गर्दै आएकी छन् ।























