काठमाडौं– एक साताअघि मात्र गठन भएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको स्थायी समिति सदस्यहरूको सूचीमा थपिएका १३ महिला सदस्यबारे विवाद उठेपछि प्रचण्ड पक्षले स्पष्टिकरण दिएको छ ।
सामाजिक सञ्जालमा संयोजक प्रचण्डकी छोरी रेणु दाहाल र बुहारी बिना मगरको नामसमेत उसैगरी थपिएको भन्दै आलोचना भएपछि सचिवालयले कानुनअनुसार ३३ प्रतिशत महिला सुनिश्चित गर्न उपस्थित रहेर हस्ताक्षर गर्न सकेका महिलाको नाम मात्र तात्कालिक रूपमा सूचीमा राखिएको जनाएको छ ।
सचिवालयका प्रमुख गोविन्द आचार्यका अनुसार यो सूची दल दर्ता प्रयोजनका लागि मात्रै हो ।
एकीकरणअघि कायम रहेको स्थायी समिति सूचीमा कानुनी अनुपात पूरा गर्न १३ महिला सदस्य थपिएको र यो कुनै नयाँ संरचना नभएको स्पष्ट गरिएको छ ।
आचार्यले विधानअनुसारको संरचना पछि बनाइने उल्लेख गर्दै आयोगमा पेश गरिएको विवरणलाई लिएर भ्रममा नपर्न आग्रह गरेका छन् ।
यी हुन् स्थायी समिति सदस्यमा थप गरिएका महिला
धर्मशीला चापागाई – कोसी प्रदेश
बोधमाया कुमारी यादव र सीता पोखरेल – मधेस प्रदेश
रेणु दाहाल, कल्पना धमला र विमला सुवेदी – बागमती प्रदेश
सुशिला सिंखडा – गण्डकी प्रदेश
दामाकुमारी शर्मा र ताराकुमारी घर्ती – लुम्बिनी प्रदेश
पुष्पा घर्ती विष्ट – कर्णाली प्रदेश
रुपा (सोशी) चौधरी, रेणु चन्द र विना मगर – सुदूरपश्चिम प्रदेश























