images
images
  • दिल्ली बम विस्फोटमा संलग्न उमरको घरमा चल्यो मोदीको डोजर

    काठमाडौं– भारतको दिल्लीस्थित प्रसिद्ध लालकिल्लानजिक कार विस्फोट गराउने आरोपी उमर मोहम्मद उर्फ उमर उन–नबीको कश्मीरस्थित घर सुरक्षाकर्मीहरूले भत्काएका छन् ।

    आज बिहानै दक्षिण कश्मीरको पुलवामामा सुरक्षाकर्मीहरूको रोहबरमा चिकित्सक उमरको घर भत्काइएको हो ।

    सोमबार साँझ भएको विस्फोटको प्रारम्भिक अनुसन्धानअनुसार उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो । २० भन्दा बढी घाइते भएका थिए ।

    अनुसन्धानबाट फरिदाबादस्थित अल–फलाह विश्वविद्यालयमा कार्यरत चिकित्सक उमरले नै लालकिल्लानजिक नेताजी सुभाष मार्गको ट्राफिक सिग्नल छेउमा विस्फोट भएको हुन्डाई आइ–२०कार चलाइरहेको पुष्टि भएको थियो ।

    विस्फोटस्थलमा भेटिएका डीएनए नमूना र उनकी आमाबाट संकलित नमूनाहरू मेल खाएपछि कारमा उनको उपस्थिति प्रमाणित भएको हो ।

    कश्मीरमा उनीहरूको घर भत्काउने कारबाही भारतीय भूमिमा आतंकवादी गतिविधिमा संलग्न वा त्यस्तो गतिविधिलाई सहयोग गर्नेहरूलाई कडा सन्देश दिने उद्देश्यले गरिएको समाचारमा उल्लेख छ ।

    यसअघि पनि पहलगाम आतंकवादी हमलाको योजनामा संलग्न व्यक्तिहरूविरुद्ध यस्तै प्रकारको भत्काउने कारबाही गरिएको थियो ।

    दिल्ली विस्फोटअघि उमरका सहकर्मी तथा चिकित्सक मुजम्मिल र शाहीन सइदबाट करिब २९ सय किलोग्राम बम बनाउने सामग्री र आक्रमण राइफलसहित अत्याधुनिक हतियार बरामद गरिएको थियो ।
    दुवै चिकित्सक अहिले हिरासतमा छन् । फरीदाबादमा ठूलो मात्रामा विस्फोटक पदार्थ जम्मा गर्नुको पछाडिको षड्यन्त्रबारे उनीहरूमाथि सोधपुछ भइरहेको बताइएको छ ।

    अनुसन्धानकर्ताहरूले जैश–ए–मोहम्मद र अन्सार गज्वात उल–हिन्दसँग सम्बन्धित यो समूहले अझ ठूलो हमला गर्ने योजना बनाएको आशंका व्यक्त गरेका छन् ।

    उनका सहयोगीहरू पक्राउ परेपछि उमर आत्तिएर दिल्ली विस्फोटमा संलग्न भएको हुनसक्ने पनि प्रारम्भिक विश्लेषणले संकेत गरेको एनडीटीभीले जनाएको छ । एनडीटीभी

    प्रतिक्रिया दिनुहोस्
    images
    images