images
images
  • प्रचण्ड–माधव नेतृत्वको नेकपाले कसरी व्यवस्थापन गर्दैछ बडेमान नेताहरूको वरियताक्रम ?

    काठमाडौं– एक दर्जनभन्दा धेरै वाम घटक मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ अब मतदाताले कसरी लिने छन् भन्ने कुरा निर्वाचनपछि मात्र स्पष्ट हुनेछ ।

    तर, अहिले पार्टीभित्र शीर्ष नेताहरूको भीड नै मुख्य चुनौती बनेको छ ।

    पार्टीमा तीनजना पूर्वप्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल क्रमशः संयोजक, सह–संयोजक र तेस्रो वरीयतामा छन् ।

    वामदेव गौतम चौथो, नारायणकाजी श्रेष्ठ पाँचौँ र हालै समाहित भएका भीम रावल छैटौँ वरीयतामा छन् ।

    पूर्व माओवादी केन्द्र र एकीकृत समाजवादीका मात्रै ५० भन्दा बढी पदाधिकारीस्तरका नेता छन् ।

    अन्य वाम घटकबाट पनि महेन्द्र राय यादव, गोपाल किराती, प्रमोद यादव, चिरन पुनलगायत नेताहरू आएपछि पार्टीको केन्द्रीय संरचना भीमकाय हुने निश्चितजस्तै छ ।

    प्रारम्भिक अनुमान अनुसार केन्द्रीय कमिटी १८००–२००० सदस्यसम्म पुग्न सक्छ ।

    महाधिवेशन नहुँदासम्म केन्द्रदेखि वडातहसम्म संयोजक–सहसंयोजकको मोडेलमै पार्टी सञ्चालन हुनेछ ।

    शीर्ष नेताहरूले व्यवस्थापनमा समस्या नआउने दाबी गरे पनि आन्तरिक प्रतिस्पर्धा र ‘जुँगाको लडाइँ’ रोक्न कठिनाइ रहने अनेक नेताहरू मान्छन् ।

    गंगालाल तुलाधर र हरिबोल गजुरेलका अनुसार क्षमता, उमेर, भूगोल र विषयगत जिम्मेवारीका आधारमा महाधिवेशनपूर्वै कार्यकारी तहको संरचना बनाइनेछ ।

    जेन्जी आन्दोलनले उठाएको भावनाअनुसार युवा पुस्तालाई पनि नेतृत्वमा ल्याउने तयारी छ, यद्यपि योग्य उत्तराधिकारी तयार हुन नसकेको स्वीकारोक्ति पनि नेताहरूको छ ।

    नेताहरूको साझा निष्कर्ष भने एउटै छ, ‘एकता टिकेन भने कम्युनिस्ट आन्दोलन नै कमजोर हुन्छ ।’

    त्यसैले सबै घटकलाई मिलाएर, जिम्मेवारी बाँडेर र त्याग गरेर भए पनि एकतालाई जोगाउने पार्टीको मुख्य लक्ष्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images