images
images
  • प्रचण्ड सचिवालयको स्पष्टीकरण : ‘नेपाली कम्युनिस्ट पार्टी’ गठनको प्रक्रिया अघि बढ्यो

    काठमाडौं– नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य वाम विचारधाराका करिब एक दर्जन समूहहरू मिलेर नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गर्ने प्रक्रिया तीव्ररूपमा अघि बढेको छ ।

    यसबीच दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम पैदा भएपछि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले औपचारिक स्पष्टीकरण जारी गरेको छ ।

    आयोगले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचन लक्षित गर्दै यही मंसिर ३० गतेभित्र दल दर्ता र प्रमाणपत्र प्राप्त गर्नुपर्ने सूचना जारी गरेको थियो ।

    त्यसअनुरूप दल दर्ताका लागि आयोगमा आवश्यक कागजात बुझाइएको तर बुझाइएका नामावली र संरचनाबारे अनावश्यक भ्रम फैलिरहेको सचिवालयको भनाइ छ ।

    सचिवालयका अनुसार संयोजक र सह–संयोजक बाहेक पार्टीका सबै पद तथा संरचना आपसी सहमतिका आधारमा बन्नेछन् ।

    हाल विभिन्न समूहबीच गृहकार्य चलिरहेको र एकीकृत पार्टीको केन्द्रीय समिति तथा अन्य सबै संरचना यही प्रक्रियाअनुसार टुंगो लाग्ने जनाइएको छ ।

    निर्वाचन आयोगमा बुझाइएका नामावलीबारे सचिवालयले स्पष्ट गर्दै भनिएको छ, ‘व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण एकीकरणपूर्व कायम रहेकाहरू विशेषतः स्थायी समिति सदस्यहरूको सूची आयोगमा बुझाइएको हो ।’

    कानुनअनुसार केन्द्रीय समितिमा एक तिहाइ महिला अनिवार्य समावेश गर्नुपर्ने प्रावधानका कारण तत्काल उपलब्ध भई कार्यालयमा हस्ताक्षर गर्न उपस्थित १३ जना महिला केन्द्रीय सदस्यहरूको नाम समेत सूचीमा थपिएको सचिवालयले स्पष्ट गरेको छ ।

    ‘यो कुनै अलग संरचना होइन, कानुनी आवश्यकताका कारण गरिएको व्यवस्थापकीय समायोजन मात्र हो,’ सचिवालयले भनेको छ ।

    सचिवालयका अनुसार बिधानअनुसार पूर्ण संरचना निर्माण गर्ने काम बाँकी नै छ र वाम एकीकरणका बाँकी चरणहरू दृढतापूर्वक अघि बढाइनेछ ।

    ‘आयोगमा पेश गरिएको सूचीबारे कुनै भ्रममा नपरी एकीकरण अभियानमा सबै साथ दिनुहुनेछ भन्ने हार्दिक अपेक्षा छ,’ संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images