काठमाडौं– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई स्थानहद निर्धारण गरी राहदानी रोक्का गरेकोबारे कुनै जानकारी नदिएको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा लेखकले भने, ‘आजसम्म सरकारले न त लिखित रूपमा न त मौखिक रूपमा मलाई स्थानहद निर्धारण वा पासपोर्ट रोक्का गरिएको जानकारी दिएको छ । कुन कानुन वा औचित्यका आधारमा यस्तो निर्णय भयो भन्ने पनि थाहा छैन ।’
उनका अनुसार दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकी राहदानी रोक्का गरिएको समाचारमाध्यमबाट मात्रै थाहा पाएको हुन् ।
जेनजी आन्दोलनको क्रममा भएको राज्य दमनबारे लेखकले भने आफू जिम्मेवार नभएको दाबी गरे ।
‘मैले २२ गते साँझ र अर्को बिहान पनि गृहमन्त्रालयका अधिकारी र प्रहरी प्रमुखलाई कुनै पनि हालतमा क्याजुलिटी हुन नदिन निर्देशन दिएको थिएँ,’ उनले बैठकमा स्पष्ट पारे ।
त्यस्तै अपदस्त निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जेन्जी आन्दोनलनको दमनको जिम्मा आफूले नलिने जिकिर गर्दै आएका छन् ।























