काठमाडौं– नेकपा (एमाले) निकट अनेरास्ववियुमा तीव्र विवाद सुरु भएको छ ।
भदौ २३ गतेको जेन्जी आन्दोलनका दिन राजीनामा दिएका अध्यक्ष डा. सुजन कडरिया पुनः पदमा फर्कने प्रयासमा छन् ।
गत कात्तिक २४ गते एमालेको घर फर्क अभियानको अवसरमा उनी दलबलसहित संगठन कार्यालय फर्किएपछि महासचिव दीपक धामीले विरोध जनाए ।
धामीले राजीनामा दिएकै व्यक्तिले पुनः अध्यक्ष बन्न खोज्नु विधानविपरीत भएको बताउँदै कार्यकर्तालाई भ्रममा नपर्न अपिल गरे ।
त्यसपछि उपमहासचिव कमल जोशीले विज्ञप्ति निकाल्दै अध्यक्ष कडरियाको पक्षमा वकालत गरे र संगठन विधिअनुसार चलाउनुपर्ने बताएका थिए ।
अध्यक्ष कडरियाले पनि आफ्नो पुनरागमनले संगठनभित्र मतभेद बढेको स्वीकार गरे ।
उनले भदौ २३ गते भावनामा बगेर राजीनामा दिएको र अहिले विधिसम्मत निकास खोज्ने प्रयास गरेको बताए ।
उनका अनुसार राजीनामापछि संगठन अवरुद्ध बनेको र केही पदाधिकारीले स्वार्थका लागि सत्तासंघर्ष थालेका कारण विवाद झन् चर्किएको हो ।
कडरियाले महासचिवलाई अध्यक्ष बनाउन खोज्नु अवैधानिक भएको उल्लेख गर्दै आवश्यकता परे विशेष महाधिवेशन गर्न सकिने बताए ।
उनले आफ्नो पुनरागमन एमाले केन्द्रीय नेताहरूको परामर्शमै भएको दाबी पनि गरे ।























