काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङ चुनाव लड्ने तयारीमा लागेका छन् ।
घिसिङ सुरुदेखि नै प्रधानमन्त्रीको आकांक्षी थिए ।
जेन्जी आन्दोलनमा सडकमा देखिएपछि उनी चर्चामा आए ।
तर, अन्ततः डिस्कर्डमा भएको अन्तिम छलफलपछि सुशीला कार्की प्रधानमन्त्री बनिन् र घिसिङ मन्त्री ।
त्यतिबेला नै कतिपयले उनलाई भावी प्रधानमन्त्रीका रूपमा मन्त्री बनाइएको टिप्पणी गरेका थिए ।
जेन्जी आन्दोलन अघि नै उनले बहराइनमा ‘उज्यालो नेपाल अभियान’ सुरु गरेर राजनीतिक दल खोल्ने तयारी गरेका थिए ।
त्यही अभियानलाई अघि बढाउँदै अहिले उनले निर्वाचन आयोगमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराएका छन् ।
पूर्वसचिव अनुप उपाध्याय अध्यक्षका रूपमा प्रस्तावित छन् भने ५१ सदस्यीय सूचिमा घिसिङको नाम छैन ।
तर, उनका निकट जिताराम लामाका अनुसार पार्टी घिसिङकै पहलमा दर्ता भएको हो र उनले पछि नेतृत्व सम्हाल्नेछन् ।
यसरी घिसिङले दुई रणनीति लिएका छन् ।
एकातिर मन्त्री पदमा रहेर शक्ति आर्जन गर्ने, अर्कोतर्फ नयाँ दलको तयारीमार्फत आगामी चुनावमा प्रवेश गर्ने ।
यसले प्रधानमन्त्री कार्कीको नैतिक सन्देश कमजोर पारेको देखिन्छ ।























