images
images
  • बारम्बारका ‘बागी’ जनार्दनको राजनीतिक कुण्डली

    ‘म कमरेड प्रभाकरलाई यहीँबाट भन्न चाहन्छु । तपाईं फर्कनुस् । एकता घोषणा सभामा आउनुस् । मेरो अपिललाई हल्का ढंगले नठानिदिनुस्,’ १८ कात्तिकमा बोलाइएको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकका सहभागीहरु समक्ष नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्‌ना सहयोद्धा जनार्दन शर्मा ‘प्रभाकर’ लाई आग्रह गर्दै थिए । यता शर्मा प्रचण्डबाट अलग हुनका लागि पत्रकार सम्मेलनको तयारीमा थिए । सामाजिक सञ्जालमा भने प्रचण्ड निकट कार्यकर्ताहरुले शर्मामाथि गालीको बौछार गरिरहेका थिए ।

    maoist padakari CEVj4eYaVz

    झण्डै पाँच दशकदेखि नेकपा मसाल, माओवादी ‘स्कुलिङ’ मा रहेका जनार्दन शर्माको जोश, कहिले प्रचण्डमाथि खबरदारी गर्ने होस्, कहिले फोहोरकै थुप्रोमाथि लडखड गरिरहदा पनि बेहोस

    तर, शर्मा प्रचण्ड नेतृत्वको पार्टीमा नरहने त्यसको दुई दिन अघि नै टुङ्गो लागिसकेको थियो । तर, प्रचण्डले कार्यकर्तासँग शर्मालाई किन पार्टीमै फर्कन स्वाङ गरे ? खुल्न सकेको छैन । प्रचण्डकै शब्दमा १६ कात्तिक बिहान उनले जनार्दनलाई आफ्‌नो निवासमा बोलाएर आफूबाट अलग नहुन बारम्बार आग्रह गरेका थिए । त्यसक्रममा प्रचण्ड र शर्माबीच राम्रै मन माझामाझ भएको थियो । अनि प्रचण्डसँग छुट्टिने बिट मार्दै शर्माले भनेका थिए,

    ‘तपाईंलाई पनि जनार्दनले हैरान पार्‍यो भन्ने भएकै छ एक दुई वर्षदेखि, मलाई पनि किन पेल्न खोजेको भन्ने परेको छ । मेरो गल्ती हो कि तपाईंको हो ? अहिले टुंगिने भएन । बरू केही समय बाहिर बसिदिएँ भने मैले मेरो गल्ती कहाँ–कहाँ हो भनेर अलग ढंगले समीक्षा गर्ने समय हुन्छ । तपाईंलाई पनि प्रभाकर आवश्यक रहेछ भन्ने महसुस भयो भने त फेरि केही समयपछि त भेट भइहाल्छ । मेरो नेता तपाईं नै हो ।’

    प्रचण्डबाट अलग भएर प्रगतिशील राष्ट्रिय अभियान सुरु गरेका पूर्वमन्त्री, ‘जनमुक्ति सेना’ का पूर्वडेपुटी कमाण्डर जर्नादन शर्मा यसबेला माओवादी पक्तिभित्र र बाहिर निकै चर्चामा छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा जस्ता झालेमाले पार्टीहरुले एकताको तयारी गरिरहदा शर्मा प्रचण्डसँग अलग भएका छन्, जहाँ उनी उपमहासचिवको जिम्मेवारीमा थिए । तर, त्यो जिम्मेवारीलाई परित्याग गरेर निकै ‘दुष्कर’ यात्रामा निस्किएका छन् । र प्रचण्ड निकटहरुको आलोचनाको तारोमा छन् ।

    को हुन् शर्मा ?

    ४० वर्षसम्म प्रचण्डसँग संगत गरेर ६३ वर्षको उमेरमा बागी बनेर निस्किएका शर्मा को हुन् ? पाठकहरुका लागि कुतुहलताको विषय हो । प्रचण्ड र शर्माबीच झण्डै दुई वर्षदेखि सतहमा टक्कर देखिदै आएको थियो । पछिल्लो समय शर्माले प्रचण्डको कार्यशैलीमा गम्भीर प्रश्न उठाउँदै उनले नेकपा (माओवादी केन्द्र) को नेतृत्व छाड्नु पर्ने वकालत गर्दै आएका थिए । केही समयअघि मात्र प्रचण्डलाई सामुन्नेमा राखेर भनेका थिए, ‘प्रचण्डको सबैभन्दा ठूलो समर्थक पनि जनार्दन नै हो । र प्रचण्डको सबैभन्दा ठूलो आलोचक पनि जनार्दन नै हो ।’

    रुकुमको मुसिकोटस्थित तत्कालीन वडा नं. ६ सेरीगाउँमा बुवा इस्कन्द शर्मा र आमा नर्मदा शर्माका जेठो सन्तानका रुपमा १२ बैशाख २०१९ सालमा जन्मिएका हुन्, जनार्दन शर्मा । १० वर्षकै हुँदा उनले सुत्केरी आमालाई गुमाएका थिए । शर्माका दुई भाई उपेन्द्र, अनिल र तीन बहिनी छन् ।

    जेठी बहिनी शिक्षिका हुन् भने माइली विजया रातोपाटीडटकमको अध्यक्ष छिन् । जो माओवादी निवर्तमान पोलिटव्युरो सदस्य तथा रातोपाटीडटकमका संस्थापक ओम शर्माकी जीवन साथी हुन् । कान्छी बहिनी नारायणी र कान्छा भाइ अनिल राजनीतिमै छन् । नारायणी दुई पटक सभासद भइसकेकी छन् । माइलो भाइ ओपेन्द्र शर्मा पत्रकार समेत हुन् । जो एक समय गोरखापत्रको उपल्लै जिम्मेवारीमा पुगेका थिए ।

    जनार्दन शर्माकै शब्दमा उनी ६ कक्षामा पढ्दै गर्दा ०३४ सालबाट राजनीतिमा आवद्ध भएका हुन् । ०४२ मा उनी खड्गबहादुर बुढा नेतृत्वको नेकपा मसालको रुकुम जिल्ला कमिटी सदस्य चुनिए । ०४२ सालमै रुकुममा भएको एउटा प्रशिक्षणमा तत्कालीन कमरेड विस्वास हालका प्रचण्डसँग शर्माको देखादेख, चिनजान, भेटघाट भएको हो । जुन राजनीतिक सम्बन्ध एक साता अघिबाट भिन्नभिन्न भएको छ ।

    ०५० सालबाट शर्मा पूर्णकालीन भए । पूर्णकालीन हुनु अघि उनी कृषि प्राविधिक (जेटिए) थिए । उनले जेटिए भएर ५ वर्ष निजामती सेवा र जनमुक्ति सेनाको कमाण्डरका रुपमा सात वर्ष ‘फर्मेशन’ मा बिताएका छन् ।

    १ फागुन ०५२ बाट औपचारिक रुपमा ‘जनयुद्ध’ सुरु गर्नु अघि नै माओवादीले एउटा नारा अघि सारेको थियो, ‘संगठनको रुप सेना र संघर्षको रुप युद्ध ।’ त्यसअवधिमा माओवादीले त्यसै अनुसार स्वयंसेवक दल, सुरक्षा दल र लडाकू दलको संरचना खडा गरी सैन्य दस्ता सुरु गरेको थियो । त्यही संरचना अनुसार शर्मा लडाकू दल हुँदै अहिलेको अवस्थामा आइपुगेका हुन् । त्यसबेला माओवादीले पश्चिम नेपालमा सिज (सिस्ने र जलजला) अभियान समेत चलाएको थियो । त्यही अभियानमै होमिएका थिए शर्मा । जनयुद्ध थालनी गर्दा पश्चिममा रुकुम र रोल्पा अनि पूर्वमा सिन्धुली–काभ्रेलगायत जिल्ला त्यसको रापतापको केन्द्रमा थिए ।

    रोल्पाको होलेरी, रुकुृमको राडीज्यूला र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकीमाथि निसाना केन्द्रीत गरेर माओवादीहरुले फौजी हमला ‘शुभारम्भ’ गरेका थिए । रोल्पाको होलेरी चौकी आक्रमण गर्दाका कमाण्डर वर्षमान पुन, सहकमाण्डर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र कमिसार कृष्णबहादुर महरा थिए भने राडीज्यूलाको कमाण्डर गणेशमान पुन र कमिसार हेमन्तप्रकाश ओली थिए । राडीज्यूला प्रहरी चौकी आक्रमणमा कमाण्डर गणेशमान पुनले केही वर्ष अघि यस प्रतिनिधिलाई बताएअनुसार त्यस फौजी कारबाहीमा कमला रोका, लालकुमारी रोका र नारायणी शर्मा तीन जना महिला सहभागी थिए ।

    जसमध्ये नारायणी शर्मा जनार्दनकै कान्छी बहिनी हुन् । कमलासँग पछि गणेशमानले नै घरजम जोडे । ०४६ सालमै शर्माले दाङ्ग देउखुरीकी लक्ष्मी पौडेलसँग दाम्पत्य गाँसे, जो पार्टीकै अगुवाई र अनुमतिमा भएको थियो । शर्मा दम्पतीका एक छोरी र एक छोरा छन् ।

    रुकुमस्थित आफ्‌नै जन्म जिल्ला राडीज्यूलाको पहिलो आक्रमणमा शर्मा स्वयं भने सहभागी थिएनन् । जानकारका अनुसार त्यसबेला उनी रुकुम–रोल्पासँगै जोडिएको दाङ जिल्लाको कार्यवाहक डिसिएस (जिल्ला कमिटी सेक्रेटरी) थिए । त्यसैले उनी आफूले जिम्मेवारी पाएकै जिल्ला दाङमा क्रियाशील भए । उनी क्रमशः सल्यान–दाङ–प्यूठान संयुक्त जिल्ला समितिको सेक्रेटरी समेत बने ।

    सैन्य मोर्चामा शर्मा

    ५ माघ २०५५ मा सल्यान–दाङका छापामारहरुको स्क्वायडले लोहारपानीस्थित झोल्नेटामा प्रहरी गस्तीमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणबाट छापामारहरुले ४ थान थ्री नट थ्री राइफल र १ सय ३० थान गोली कब्जा गरेका थिए । त्यो आक्रमणको प्रशंसा गर्दै तत्कालीन सल्यान–दाङ जिल्ला इन्चार्ज शर्माले सार्वजनिक गरेको वक्तव्य वर्ष ८, अङ्क ११, माघ १२ (मङ्गलबार) ०५५ को जनादेशमा प्रकाशित छ । जहाँ उनको नाम प्रभाकर उल्लेख छ ।

    १० माघ ०५५ मा स्क्वायडहरु केन्द्रीकरण गरिएको छापामारहरुको समूहले पश्चिम क्षेत्रको संयुक्त जिल्ला सल्यान–दाङअन्तरगत सल्यानको झिम्पेस्थित रिपिटर टावरको सुरक्षार्थ खटिएको प्रहरीमाथि आक्रमण गर्यो । उक्त कारबाहीका कमाण्डर भारतबाट भर्खरै सैन्य तालिम गरेर आएका पासाङ थिए भने कमिसार शर्मा । तीन जना प्रहरीको मृत्यु र छ जना घाइते भएको उक्त कारबाही माओवादीले आफ्‌नो चौथो सैन्य योजनाभित्र गरेको थियो ।

    पश्चिम कमाण्डकै उक्त प्रथम सफल ‘रेड’ बाट शर्मा सैन्य मोर्चामा भित्रिएका थिए । यो आक्रमण माओवादीको चौथो सैन्य योजना अन्तरगत भएको थियो । त्यहाँबाट छापामारहरुले आठ थान थ्रिनट थ्रि राईफल, आठ सय राउण्ड गोली, एक थान रिभल्वोर कब्जामा लिएका थिए । यसपछि छापामारहरुको समूहले १९ चैत्र ०५५ मा दाङको चिराघाट प्रहरी चौकीमाथि आक्रमण केन्द्रीत गरेको थियो । जहाँबाट माओवादीहरुले छ थान राइफल र १ थान रिभल्वोर नियन्त्रणमा लिएका थिए ।

    यहीबेला माओवादीले पश्चिममा दाङ्ग, सल्यानमा थप निसाना केन्द्रीत गर्ने गरी प्लाटुन पुर्नगठन गर्यो । जसमा पहिलोको कमिसार सुनिल (किमबहादुर थापा), दोस्रोको प्रभाकर (जनार्दन शमा) र तेस्रोका कमिसार उद्धव (भक्तबहादुर शाह) बने । लगत्तै सैन्य हेडक्वारटर घोषणा गरियो, जसमा पासाङ, प्रभाकर र अनन्त (वर्षमान पुन) थिए ।

    ०५५ भाद्रमा भारतको फरिदावादमा सम्पन्न केन्द्रीय समितिको चौथो विस्तारित बैठकबाट रोल्पाका वर्षमान पुन ‘अनन्त’, रोल्पाकै नेत्रविक्रम चन्द ‘विप्लव’, प्युठानका मणि थापा ‘अनुकुल’, जाजरकोटका शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’, बाग्लुङका हितमान शाक्य ‘सुमन’, नवलपरासीका चक्रपाणी खनाल ‘बलदेव’ र भक्तपुर/काठमाडौंका प्रभाकर प्रधानाङ्ग ‘रविन्द्र श्रेष्ठ’ लाई माओवादीले केन्द्रीय समितिमा मनोनित गर्यो । यो केन्द्रीय समितिमा प्रभाकर पर्न सकेनन् ।

    माघ–फागुन ०५७ मा भारतकै भटिण्डामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएका हुन् । केन्द्रीय सदस्य बने लगत्तै उनलाई पार्टीले उालाई सुदूरपश्चिम उपक्षेत्रियव्युरो ईन्चार्जको जिम्मेवारी दियो । त्यसलाई सफलतापूर्वक निर्वाह गरे शर्माले । यसपछि उनी क्षेत्रियव्युरो ईन्चार्ज भए ।

    २४ चैत्र ०५७ मा छापामारहरुले रुकुमको तकसेरा प्रहरी चौकीमाथि भीषण हमला गरे । उक्त हमलामा परी इन्सपेक्टर तर्कबहादुर वलीसहित आठ प्रहरीको मृत्यु भएको थियो भने माओवादीहरुले ३७ थान थ्री नट थ्री राइफलसहित ४२ थान हतियार आफ्‌नो कब्जामा लिएका थिए । उक्त आक्रमणको कमिसार शर्मा र कमाण्डर पासाङ थिए । जुन वर्ष ९, अङ्क २२, बैशाख ६, ०५७ को जनादेशमा उल्लेख छ ।

    माओवादीको चौथो सैन्य योजना (कात्तिक ०५५–साउन ०५६) को अन्त्यतिरबाट सैन्य फर्मेशनमा होमिएका शर्मा रणनीतिक प्रत्याक्रमणको १२ औं फौजी कारबाही (बैशाख ०६३) सम्म ‘जनमुक्ति’ सेनामा आवद्ध भए । औपचारिक रुपमा प्लाटुन कमिसारबाट छापामारको नेतृत्व सम्हालेका शर्मा डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डरसम्म बने ।

    २३ साउन ०६२ मा जनमुक्ति सेनाको पश्चिम डिभिजनले कालीकोटको पिलीमा सडक निमार्णमा सहभागी तत्कालीन शाही नेपाली सेनाको अस्थायी क्याम्पमाथि धावा बोल्यो । जसको कमाण्डर प्रभाकर अर्थात जनार्दश शर्मा नै थिए । जानकारहरुका भनाइमा शर्माले उक्त हमला सैन्य हेडक्वाटर (प्रचण्ड) लाई समेत जानकारी नै नदिइ गरेका थिए ।

    भिन्न छैनन् माओवादीका अन्य नेताभन्दा

    कम्युनिष्टहरुको ‘स्कुलिङ’ संकीर्ण ‘स्कुलिङ’ हो । त्यसमध्येमा पनि मसाल, माओवादी ‘स्कुलिङ’ निकै नै परम्परावादी संकीर्ण सोंचको छ । शर्माले पनि आफ्‌नो बालवयदेखि बुढ्यौली (६३ वर्ष) सम्म त्यही ‘स्कुलिङ’ मा बिताएका छन् । त्यसैले उनी पनि फराकिलो छातीका होलान् भनेर सोच्नु एक मिठो कल्पना मात्र हो ।

    प्रचण्डलगायत माओवादी मुलधारका अन्य नेतामा जस्तै शर्मामा पनि परिवार मोह अगाध छ । राजनीतिज्ञका लागि कहिले काहिँ यसलाई सफलताको कडी मान्न सकिएला । तर, धेरै दृष्टान्तहरुले पुष्टि गरेका छन्, परिवार मोह नै उनीहरुलाई सफल बन्न नदिने खास गलगाँड हो । शर्मा पनि यसबाट अपवाद छैनन् ।

    फेरि प्रसंग सुरु गरौं, पूर्वशान्ति तथा पुर्ननिर्माण, उर्जा, गृह, पुनः उर्जा र अर्थ मन्त्री शर्माबाटै । छ दाजुभाइ दिदीबहिनीमा सबैलाई शर्माले राजनीतिक नेतृत्व र कमाउ ठाउँमा त पुर्याएका छन् नै, अन्य नातेदारहरुलाई पनि उत्तिकै राजनीतिक/आर्थिक छहारी दिएका छन् । हुन त यहाँ कमाउने ठाउँमा पुग्नु र पुर्याउनु अपराध हो ? भन्ने प्रश्न पनि उठाउन सकिन्छ । कमाउने ठाउँमा पुग्नु र पुर्याउन अपराध हुँदै होइन । तर, कसरी पुगे–पुर्याइए ? त्यो चाहिँ महत्वपूर्ण हो ।

    उल्लेख भइसकेको छ, शर्माले माइलो भाइ ओपेन्द्र शर्मालाई गोरखा पत्र संस्थानको उपल्लै जिम्मेवारीमा पुर्याए । कान्छा भाइ अनिल शर्मालाई अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्ष बनाउन भरमग्दुर प्रयत्न गरेका थिए । भलै, वर्षमान पुनका कारण त्यसमा उनी सफल हुन सकेनन् । पुनको समर्थनमा अध्यक्षको प्रत्यासी बनेका झापाका रञ्जित तामाङले शर्माको योजनालाई धुलिसात बनाईदिए । यसपछि शर्माले भाइ अनिललाई ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. एकबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग प्रतिस्पर्धामा उतारे । त्यहाँ पनि अनिल पराजित भए ।

    सधैँ राजनीति गरेका अनिलले काठमाडौं मध्य बानेश्वरमै घर किनेर बसेका छन् । मध्य बानेश्वरमा घर खरिद गर्ने आय के हो ? शर्मा परिवारलाई नै थाहा होला । स्मरणीय छ, ०७० को निर्वाचनमा त्यस क्षेत्रको प्रतिस्पर्धी प्रचण्डकी माइली छोरी रेणु थिइन । शर्माले अनिललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनाउने प्रयास समेत गरेका थिए ।

    ३ जेठ ०७५ मा नेकपा बन्नु अघि शर्माले परिवार/नातेदारबाट श्रीमती लक्ष्मी शर्मा, माइलो भाइ ओपेन्द्र शर्मा, कान्छो भाइ अनिल शर्मा, कान्छी बहिनी नारायणी शर्मा, माइली बहिनी ज्वाईँ ओमनाथ ढुङ्गाना (ओम शर्मा), कान्छी बहिनी ज्वाईँ लुमाकान्त न्यौपाने, काकाका छोरा भीमप्रकाश शर्मा, उनकी श्रीमती विमला केसी, मामाका छोरा राजकुमार शर्मा, उनकी श्रीमती प्रतिमा केसी, अर्का मामाका छोरा गोपाल शर्मा, विशाल शर्मा, पारिवारिक नातेदार उमाकान्त शर्मा, तिलकराम शर्मालगायतलाई केन्द्रीय सदस्य बनाएका थिए ।

    नेकपा माओवादीको शिक्षक संगठनका पूर्वअध्यक्ष एवं विश्लेषक गुणराज लोहनीले पाँच वर्ष अघि यस प्रतिनिधिलाई बताएअनुसार शर्मा परिवारबाट सबैभन्दा बढी केन्द्रीय सदस्य बनाउने नेतहरुमध्येको अग्रपक्तिमा शर्मा पर्छन । परिवार मात्रै होइन, आफू निकटका महेन्द्रबहादुर शाहीलाई कर्णाली प्रदेशको मुख्य मन्त्री बनाउन समेत शर्माको ठूलो हात छ । कर्णाली सरकारको मन्त्रीहरुमा विमला केसी, गोपाल शर्मालगायत पुर्याउन पनि शर्माले उत्तिकै भूमिका खेलेका थिए । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका पूर्वप्रमुख गोरखबहादुर केसी पनि कुनै समय शर्माकै ‘पकेट’ थिए । यस्तो सूची लामै छ । भलै यसबेला उनीहरुमध्ये कमैले मात्र शर्मालाई साथ दिएका छन् ।

    जानकारका अनुसार शर्मा र पुन दुवैले प्रचण्डलाई फकाएर भन्दा धम्क्याएर जिम्मेवारी लिने गरेका थिए, छन् । उनीहरुको स्वभाव र चरित्र थाहा पाउँदा पाउँदै पनि प्रचण्ड किन गल्न वाध्य भएका छन् भने दुवैले कार्यकर्ताहरुको एउटा हिस्सा आफ्‌ना पछि लगाएका थिए, छन् । शर्मा र पुनबीच मन्त्री हुन र एकले अर्कालाई असफल बनाउन पनि उनीहरुबीचमा उत्तिकै प्रतिस्पर्धा थियो । जनयुद्धमा रोल्पा–रुकुमको समान योगदान हुँदाहुँदै पनि रोल्पाको तुलनामा रुकुमलाई पछि पारिएको शर्माको बुझाइ छ ।

    पूर्वअध्यक्ष लोहनी, जो शर्मा सेती–महाकाली व्युरो ईन्चार्ज हुँदा बैशाख ०६० देखि जेठ ०६१ सम्म ११ महीना उनीसँगै रहे, का शब्दमा शर्मा जनयुद्धकालमा आफैं फिल्डमा खट्ने, हाफ पाइन्ट लगाएर एम १६ राइफल बोकेर तत्कालीन ‘दुश्मन’ को फौजसँग लड्न जाने पात्र हुन् । जस्तो कि १५ मंसिर ०६० मा कैलालीको खिमडीमा शाही नेपाली सेनासँग भिडन्त भएको थियो । त्यो भिडन्तमा शर्मा एम १६ बोकेर आफैं लड्न गएका थिए ।

    “जनार्दश शर्मा अहिले प्रचण्डलाई के गर्छन, मलाई थाहा हुने कुरा भएन । मैले संगत गरुन्जेल उनी आफूलाई बाहेक अरु कसैलाई मान्छे गन्दैनथे । शर्मा सेती–महाकाली व्युरो इन्चार्ज हुँदा पश्चिम कमाण्डको इन्चार्ज पोष्टबहादुर बोगटी थिए । उनी बोगटी– देव गुरुङलगायतलाई अलिकति पनि मान्दैनथे”, लोहनीको भनाइ छ, “शर्मा भयंकर महत्वकांक्षी मान्छे हुन् । जनयुद्धकालमै रुकुम–रोल्पाका नेताहरुबीच ठूलो द्धन्द्ध थियो । रुकुममा हेमन्तप्रकाश ओली, लोकेन्द्र विष्ट शर्माभन्दा पुराना नेता थिए । तर, उनीहरु लामो समय जेल परे । त्यसैले शर्मा छिट्टै माथि आउन पाए । सेती–महाकालीमा गएर संगठन/सेना पनि राम्रो बनाए । जनयुद्धमा पहिलो पटक एम १६ पनि शर्माले नै खोसे ।”

    शर्मामा ठा–ठाडै खुलमखुला कुरा गर्ने विशेषता रहेको लोहनी बताउँछन् । “षडयन्त्र धेरै जान्दैनन् । हुन्छ हुन्छ, हुन्न हुन्न, सामुन्नेमै भनिदिन्छन् । व्यवहारिक छन् । हुने र सक्ने काम गरिदिन्छन पनि । क्षमता चाहिँ शर्माको धेरै छ’, लोहनी विश्लेषण गर्छन्, ‘आस देखाएर मान्छेलाई झुलाई रहदैनन् । सामुहिक छन् । शर्माका यी राम्रा पक्ष हुन् ।”

    हुन पनि केही समय अघि मात्र शर्माले एउटा सार्वजनिक कार्यक्रम प्रचण्डलाई सामुन्नेमा राखेरै भनिदिए, ‘तपाईले मलाई पनि षडयन्त्रको सिद्धान्त सिकाउनु पर्यो नि त ।’ शर्माले प्रचण्डलाई षडयन्त्रको सिद्धान्तमा चल्ने नेता हुन् भनेर इङ्गित गरेको बुझ्‌न कठिन छैन । कम्युनिष्टहरुभित्र एकदमै धेरै शब्द जाली शैली चल्छ । जानकारका अनुसार शर्मा शब्दजाली नेता होइनन् । तर, शर्मामा बेलाबेलामा झनक्क सन्किने स्वभाव छ ।

    ११ बैशाख ०६३ मा माओवादी शान्ति प्रकृयामा सहभागी भएपछि माघ ०६३ मा अन्तरिम व्यवस्थापिका संसदमा छिरेका थिए, शर्मा । त्यसयता उनी जेनजी विद्रोहपछि गएको २७ भदौ साँझ शुशीला कार्कीको नेतृत्वमा सरकार बनेर प्रतिनिधिसभा विघटन हुनु अघिसम्म लगातार जनप्रतिनिधि छन् । ०६४, ०७०, ०७४ र ०७९ को संविधानसभा एवम् प्रतिनिधिसभामा शर्मा रुकमबाट लगातार निर्वाचित भएका छन् ।

    चैत्र ०६४ मा संविधानसभाको निर्वाचन भएर १५ जेठ ०६५ मा गणतन्त्र स्थापना गरियो । यसपछि ६ भदौ ०६५ मा प्रचण्डको नेतृत्वमा बनेको मन्त्रिपरिषद्मा शर्मा शान्ति तथा पुर्ननिर्माण मन्त्री भए । त्यसबेला उनले त्यस मन्त्रालय मातहत राम्रै काम गरे । प्रधान सेनापति रुक्माङ्गगत कटवाल काण्डमा प्रचण्डले २० बैशाख ०६६ राजीनामा दिनु पर्यो । यसपछि माधव नेपाल प्रधानमन्त्री बने । यस सरकारमा माओवादी सहभागी भएन ।

    मंसिर ०७० को निर्वाचनपछि ७ वैशाख ०७१ देखि २७ साउन ०७३ सम्म शर्मा संसदको महत्वपूर्ण सार्वजनिक लेखा समिति समितिको सभापति बने । नेपाली कांग्रेसको सहयोगमा आफैंले बनाएको केपी ओली सरकार ढालेर २० साउन ०७३ मा प्रचण्ड प्रधानमन्त्री बने । प्रचण्ड प्रधानमन्त्री बनेको १० दिनपछि ३० साउनमा शर्माले उर्जा मन्त्रालयको कुर्सीमा आसन जमाए । त्यसबेला उनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाए । त्यसबेला दैनिक १६ घण्टासम्म लोडसेडिङ भइरहेको थियो । घिसिङको अगुवाइमा लोडसेडिङ अन्त्य गरियो । यसको वाहवाह घिसिङले त पाए नै, शर्माले पनि लोकप्रियता कमाए ।

    २३ जेठ ०७४ मा प्रचण्डले प्रधानमन्त्रीको कुर्सी शेरबहादुर देउवालाई हस्तान्तरण गरे । उर्जा मन्त्री हुँदा कमाएको वाहवाहका कारण शर्मा देउवा सरकारमा गृह मन्त्री भए । गृहमन्त्रीका रुपमा पनि शर्माको कार्यकाल खासै विवादित भएन । त्यसपछि शर्माले पुनः वाहवाह कमाएको उर्जा मन्त्रालयकै रथ हाके । तर, यस कार्यकालमा शर्माले पहिले जस्तो ‘लोकप्रियता’ कमाउन सकेनन् ।

    २९ असार ०७८ मा अदालतको आदेशपछि गठन भएको देउवा सरकारमा शर्माले अर्थ मन्त्रालयको लगाम समाउने अवसर पाए । तथापि उनी पहिलो पटक उर्जा मन्त्री हुँदा जसरी ‘हिरो’ भएका थिए । अर्थमन्त्रीका रुपमा उनले त्यो साख उचो बनाउन त सकेनन् नै, करका दर हेरफेर गराएको आरोपमा चरम विवादित भएर राजीनामा नै दिनु पर्या ।

    आरोपको खात

    थुप्रै आरोपका खातमाथि खातमा छन् शर्मा । उनी र उनको कोटरीलाई जानकारी छ–छैन ? त्यो अलग कुरा हो । शर्माको स्थापित उपनाम तार काट्ने मुसा हो । अर्थमन्त्रीको कुर्सीबाट बजेट ल्याउँदा शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयभित्र छिराएर रातारात करका दर हेरफेर गरेको आरोप लाग्यो । यसपछि संसदमा हंगामा नै भयो । शर्मा राजीनामा दिन बाध्य भए । लामो रस्साकस्सीपछि करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न संसदीय समिति बन्यो । तर, समितिले सिसिटिभी फुटेज अनुसन्धान गर्न पाएन । सिसिटिभी फुटेजको तार मुसाले काटेको बहाना बनाइयो । त्यसयता शर्मालाई अधिकाशंले ‘मुसा’ का नामले सम्बोधन गर्छन । संसदीय छानबिन समितिले लटरपटर प्रतिवेदन दिएपछि शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भए । तर, गुमेको छवि फर्काउन सक्ने कुरै थिएन ।

    ०६५ को अन्त्यतिर लडाकू शिबिरबाट तीन करोड रुपैयाँ ल्याएर काठमाडौंको बालाजुमा जनमैत्री अस्पताल खरिद गर्दा होस् वा त्यो अस्पताल नेपाली कांग्रेसका यसबेलाका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठलाई बेच्दा आर्थिक अपचलन गरेको गम्भीर आरोप छ शर्मामाथि । शर्मा–प्रचण्डलगायत निश्चित शीर्ष नेताहरुलाई शिबिरभित्रको घोटालाको पनि आक्षेप छ ।

    २–५ असार ०७९ मा काठमाडौंको भृकुटीमण्डपमा भएको तत्कालीन माओवादीको सातौ राष्ट्रिय विस्तारित बैठकमा शिबिरभित्रको घोटाला, जनमैत्री अस्पताल खरिद गर्दाको घोटालाको विषय उठाएर लडाकूहरुले अध्यक्ष प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुलाई कुर्सी नै हानेका थिए । त्यसलाई सामसुम बनाउन माओवादीले तत्कालीन नेता पोष्टबहादुर बोगटीको नेतृत्वमा छानबिन समिति नै बनाएको थियो । तर, त्यो प्रतिवेदन गुपचुप छ ।

    तत्कालीन नेकपा (माओवादी) र नेकपा (एमाले) का पूर्वस्थायी समिति सदस्य मणि थापाका भनाइमा शर्माले राजनीतिलाई खेलका रुपमा बुझ्‌छन् । राजनीतिमा पनि निष्ठा, मर्यादा हुन्छ भन्ने ख्याल गर्दैनन् । “अरु नेताहरुले जस्तै शर्माले पनि राजनीतिमा नम्स, भ्यालु हुन्छ भन्ने कुरामा खासै सरोकार राख्दैनन् । अलि महत्वकांक्षी छन् । आफूसँग जति क्षमता अरुसँग छैन भन्ने उनको बुझाइ छ”, खरो विश्लेषण क्षमताका धनी थापाको कथन छ, “शर्मा माओवादीभित्र प्रतिस्पर्धा गरेर पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने योजनामा थिए । तर, उनलाई प्रचण्ड, वर्षमान पुनलगायतले यसरी पेले कि पार्टीबाटै बाहिर निस्कन बाध्य बनाए । अब उनको राजनीति कसरी अघि बढ्छ ? त्यो भने देखिन बाँकी छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images