काठमाडौं– नेकपा (एमाले)को आगामी सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
सचिवालयका अधिकांश सदस्य उनको पक्षमा उभिन सक्ने अनुमान छ ।
कात्तिक १५ गते भक्तपुर गुन्डुमा बसेको बैठकमा धेरै नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए ।
सो बैठकमै पोखरेलले नेतृत्वबारे छलफल गर्न खोजे पनि ओलीले अर्को बैठकमा कुरा गर्ने भनेका थिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण खोल्न ओलीले नमानेपछि पोखरेल उनको साथमा उभिएर प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।
सचिवालयका एक नेताका अनुसार, अबको बैठकमा पोखरेलले ‘पार्टी नेतृत्व लिन तयार भएको’ घोषणा गर्दै समर्थन माग्नेछन् ।
हालसम्म सचिवालयका १८ सदस्यमध्ये करिब ६ जना पोखरेलको पक्षमा छन् ।
दस जनाको समर्थन जुटे उनी बहुमतमा पुग्नेछन् ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र अन्य नेताहरूले पनि ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
पोखरेल पक्षले ओलीबाट अब पार्टीमा नयाँ ऊर्जा आउन नसक्ने ठहर गर्दै प्रतिस्पर्धाको तयारी पूरा गरेको बताएको छ ।
उनीहरूका अनुसार ओलीले प्रधानमन्त्रीका रूपमा जेन्जी आन्दोलनमा भएको दमनपछि जनसमर्थन गुमाएका छन् ।
मंसिर २७–२९ मा काठमाडौंमा हुने एघारौँ महाधिवेशनका लागि समितिहरू बनाउने बैठकको मिति भने अझै तय भएको छैन ।























