काठमाडौं– जेन्जी आन्दोलनबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई चुनौती दिँदै २१ फागुनमा निर्वाचन हुन नसक्ने दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा ओलीले सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै भने, ‘यो सरकार चुनाव गराउन बनेको होइन, फागुन २१ मा यसको समय सकिन्छ, तर घामजूनजस्तो टिक्ने फुर्ती देखिएको छ । चुनाव गरेर देखाऊ न त !’
उनले सरकारको गतिविधि निर्वाचन तयारीभन्दा राजनीतिक दलहरूलाई कमजोर पार्नेतर्फ केन्द्रित भएको आरोप लगाए ।
‘प्रधानमन्त्रीलाई राजनीतिक नेताको अनुहार हेर्न मन छैन भन्छन्, दललाई चुनावमा भाग लिन नदिने कुरा हुन्छ, यस्तोमा चुनाव हुन्छ र ?’ ओलीको प्रश्न थियो ।
ओलीले एमालेले अब संसद् पुनर्स्थापनाको अभियानमा फोकस गर्ने बताउँदै भने, ‘असंवैधानिक सरकारलाई मान्यता दिने होइन, प्रतिनिधिसभा पुनर्स्थापना गरेर देशलाई ट्रयाकमा फर्काउने हो ।’
उनले टोलटोलमा एमालेले सुरक्षा दस्ता बनाउने र ट्रेड युनियन अधिकार कसैले खोस्न नसक्ने चेतावनी पनि दिए ।
राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीले मुख सम्हाल्नु, जिब्रो नचलाउनु ।’
सोही कार्यक्रममा पूर्व समाजवादी नेतृ रामकुमारी झाँक्रीसहित १० जना केन्द्रीय नेताहरू पुनः एमालेमा प्रवेश गरेका छन् ।
झाँक्रीले आफू विनासर्त एमाले फर्किएको बताइन् ।
ओलीले मंसिर २७ गते हुने पार्टी महाधिवेशन भव्य हुने दाबी गर्दै भने, ‘त्यो दिन काठमाडौंले एमालेको शक्ति देख्नेछ ।’























