काठमाडौं– जेन्जी आन्दोलनपछि ओझेलमा परेको नेपाली कांग्रेस हाल आन्तरिक विवादमा फसेको छ ।
पार्टीको १५औँ महाधिवेशन फागुन २१ अघि वा पछि गर्ने भन्ने विषयमा एक महिनादेखि चलेको बहस अझै टुंगोमा पुगेको छैन ।
त्यहीबीच प्रतिनिधिसभा पुनःस्थापनाका लागि निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर अभियानले नयाँ विवाद थपेको छ ।
घिमिरेको अभियानप्रति महामन्त्री गगन थापा र डा. शेखर कोइराला समूहले कडा आपत्ति जनाएका छन् ।
थापाले निर्वाचन नै संविधानलाई सही बाटोमा ल्याउने उपाय भन्दै फागुन २१ को चुनावमा कांग्रेस सक्रिय हुने बताएका छन् ।
कोइरालाले पनि पुनःस्थापनाले संकट समाधान नदिने बताए ।
तर, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिमा संस्थापन समूहका सांसदहरूले हस्ताक्षर अभियान अघि बढाइरहेका छन् ।
यद्यपि संस्थापनकै धेरै सांसदहरू पनि हस्ताक्षर गर्न अनिच्छुक देखिएका छन् ।
पूर्व–उपसभापति विमलेन्द्र निधिले पुनःस्थापनाले पुरानै अस्थिर गठबन्धन दोहोर्याउने भन्दै त्यसले समाधान नदिने टिप्पणी गरेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले चुनावमा जाने तयारीमा रहेको र विशेष महाधिवेशनको अहिले औचित्य नभएको बताएका छन् ।
त्यसैबीच वरिष्ठ अधिवक्ता तथा पूर्वसांसद राधेश्याम अधिकारीले कांग्रेस तीन चौथाइ एमालेको पिछलग्गु भइसकेको दाबी गर्दै एमालेसँग फेरि गठबन्धन गरे पार्टी समाप्त हुने चेतावनी दिएका छन् ।























