काठमाडौं– राजनीतिमा स्थायी मित्रता वा शत्रुता हुँदैन ।
परिस्थितिअनुसार समीकरण बदलिँदै जान्छन् ।
यही कुरा हालै एमाले प्रवेश गरेकी रामकुमारी झाँक्रीको राजनीतिक यात्रामा स्पष्ट देखिन्छ ।
झन्डै पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडकमा उत्रिएकी झाँक्री अहिले उनै ओलीको नेतृत्वमा एमालेको झन्डामुनि फर्किएकी छन् ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीसहित किसान श्रेष्ठलगायतका नेताहरू एमालेमा प्रवेश गरे ।
ओलीले झाँक्रीलाई पार्टीको झन्डा र लालफित्ता पहिर्याउँदै स्वागत गरे ।
२०७७ माघ २८ गते संसद् विघटनविरुद्धको सभामा झाँक्रीले मुखमा कालो टेप टाँसेर ओलीको कडा विरोध गरेकी थिइन् ।
उनले त्यतिबेला ‘ओली कागजका बादशाह हुन्’ भन्दै कटाक्ष गरेकी थिइन् । त्यसयता उनी माधव नेपालको साथमा लागेर नेकपा (एकीकृत समाजवादी) गठनमा सक्रिय भइन् र मन्त्री समेत बनिन् ।
तर, पार्टीभित्रको असन्तुष्टिले उनलाई क्रमशः टाढा लगायो ।
महाधिवेशनमा पराजय र पार्टी एकीकरण प्रक्रियाप्रति असमर्थनपछि उनले एमाले फर्कने संकेत दिएकी थिइन् ।
अन्ततः पाँच वर्षपछि उनले पुराना विवादलाई पर राख्दै ओलीकै नेतृत्व स्वीकार गरेकी छन् ।
अब उनी फेरि ‘कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमालेमै छ’ भन्ने विश्वासका साथ सोही धारमा फर्किएकी छन् ।























