काठमाडौं– प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएपछि नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ ।
शनिबारदेखि सुरु भएको अभियानप्रति डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आपत्ति जनाएका छन् ।
घिमिरेले संसद् विघटनविरुद्ध अदालत जाने कि नजाने भन्ने निर्णयका लागि केन्द्रीय समितिमा बुझाउन हस्ताक्षर सङ्कलन गरिएको बताए ।
तर महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत निर्वाचन नै संविधानलाई सही मार्गमा ल्याउने एक मात्र उपाय भएको भन्दै पुनर्स्थापनाविरुद्ध सार्वजनिक रूपमा धारणा व्यक्त गरे ।
डा. कोइरालाले पनि अहिलेको समाधान निर्वाचनमै रहेको बताए ।
स्रोतका अनुसार घिमिरेको अभियान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिमा अघि बढेको हो ।
हस्ताक्षर गर्नेहरू प्रायः संस्थापन समूहका पूर्वसांसद हुन् भने कोइराला र थापा निकटका सांसदहरूले सहभागिता जनाएका छैनन् ।
कांग्रेस कार्यसम्पादन समितिले संसद् विघटनलाई असंवैधानिक भने पनि पुनर्स्थापना गर्ने निर्णय भने नलिएको छ ।
घिमिरेले भने पार्टीले असंवैधानिक ठहर गरेको विषयमा अदालतमा नजानु औचित्यहीन भएको बताउँदै अभियान जारी राख्ने बताए ।
उक्त विवाद भदौ २७ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि सुरु भएको हो ।























