काठमाडौं– आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउ अभियानका संयोजक बताउने दुर्गा प्रसाईंले आइतबार काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिएका छन् ।
सुकुम्बासी बस्ती हटाउने विषयमा महानगर र गृह प्रशासन आमनेसामने भइरहेको बेला प्रसाईंले सुकुम्बासीहरूलाई उक्साउने भाषण दिएका हुन् ।
मनोहरा बस्तीमा गएर उनले भने, ‘जसले घर भत्काउन आउँछ, त्यसको घर भत्काउनुस्, जसले लछारपछार गर्छ, उसैको… (परिवारलक्षित आपत्तिजनक शब्द) ।’
७ मंसिरदेखि राजसंस्था पुनःस्थापनाको ‘निर्णायक आन्दोलन’ सुरु गर्ने घोषणा गरिसकेका प्रसाईंको यस्तो अभिव्यक्तिलाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको छ ।
अनुसन्धान अधिकारीका अनुसार, उनका अघिल्ला आन्दोलनहरूमा सुकुम्बासी बस्तीका मानिसहरू प्रयोग गरिएकाले फेरि त्यही शैली दोहोरिन सक्ने आशंका गरिएको छ ।
प्रसाईं पछिल्ला दिनमा देश ठप्प पार्ने आन्दोलन र रासन भण्डारण गरेर राख जस्ता चेतावनी दिँदै आएका छन् ।
यिनै कारणले ९ कात्तिकमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले उनलाई बोलाएर छलफल गरेका थिए ।
त्यतिबेला उनले तत्काल आन्दोलन नगर्ने तर पुसमा तयारी भइरहेको, धार्मिक कारणले मंसिरबाट सुरु गर्न लागिएको बताएका थिए ।
वार्ताका लागि तयार रहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री ओमप्रकाश अर्याललाई मागसहित पत्रसमेत बुझाएका छन् ।
उनले गरीब जनताको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा र बढी रकमलाई ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
गृह मन्त्रालयले २६ कात्तिकमा प्रसाईंसँग प्रत्यक्ष वार्ता गर्ने तयारी गरेको छ ।
माओवादी हुँदै राजावादीसम्मको यात्रा
आज राजसंस्था र हिन्दुराष्ट्रका तीव्र समर्थक बनेका प्रसाईं कुनै समय माओवादी आन्दोलनका निकट थिए ।
सशस्त्र द्वन्द्वको बेला उनी विद्रोही पक्षलाई आर्थिक र भौतिक सहयोग पुर्याउने गर्थे ।
पछि उनी बिर्तामोडमा बीएन्डसी मेडिकल कलेज सञ्चालन गर्दै व्यवसायीका रूपमा उभिए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनी अध्यक्ष पुष्पकमल दाहालसँग नजिकिए पछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध गाँसे ।
उनी २०७७ सालमा ओलीलाई प्रमुख अतिथि बनाएर क्यान्सर अस्पताल उद्घाटनसम्म गरे ।
तर, कलेजको सम्बन्धन नपाएपछि ओलीसँग दूरी बढ्दै गयो ।
२०७९ मा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखी ‘नागरिक बचाउ महाअभियान’ सुरु गरे ।
त्यसपछि उनी पूर्ण रूपमा राजावादी बने ।
१५ चैतको आन्दोलन हिंसात्मक बन्दा दुई जनाको मृत्यु र धेरै घाइते भए ।
त्यसयता उनले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामाथि पनि असन्तुष्टि जनाउँदै छुट्टै अभियान चलाइरहेका छन् ।
भारतसँग नजिक सम्बन्ध रहेको दाबी गर्दै आएका प्रसाईं गत चैतको घटनापछि भारत पुगे पनि त्यहाँ अपेक्षित सहयोग पाएनन् ।
अनुसन्धान अनुसार, उनी प्रयागराज, लखनऊ हुँदै आसामसम्म पुगेका थिए ।
आरएसएसका केही क्षेत्रीय नेतासँग उनको सम्पर्क रहेको खुलेको थियो ।
हालै दिल्ली विमानस्थलमा उनलाई ४५ मिनेटसम्म रोकेर सोधपुछ गरिएपछि नेपाली राजदूतको पहलमा मात्र फर्किन पाएका थिए ।
माओवादी, एमाले, पूर्वराजा हुँदै भारतसम्मको सहारा खोज्दै आएका प्रसाईं अब कसतर्फ ढल्छन् ।
यही प्रश्न अहिले राजनीतिक वृत्तमा उठिरहेको छ ।























