images
images
  • नेकपामा भित्र्याउन भीम रावललाई फकाउँदै प्रचण्ड–माधव, जनार्दन–घनश्यामसँग बोली बन्द

    काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास तीव्र बनाएका छन् ।

    २०८१ पुस ११ गते एमालेबाट निष्कासित रावललाई नयाँ पार्टीमा ल्याउन दुवै नेताले पछिल्ला दिनमा लगातार छलफल गरिरहेका छन् ।

    रावलले पनि प्रचण्ड र माधवसँग संवाद भइरहेको पुष्टि गर्दै प्रस्तावबारे छलफलपछि निर्णय दिने बताएका छन् ।

    ‘दुवै नेतासँग मेरो कुराकानी भएको छ,’ रावलले भने, ‘उहाँहरूले सँगै काम गरौं भन्नुभएको छ । मैले पनि आफ्ना विचार समेटिनुपर्ने कुरा राखेको छु ।’

    माधव नेपालले समेत रावल एकताप्रति सकारात्मक रहेको बताएका छन् ।

    ‘रावलजी कहिल्यै नकारात्मक हुनुहुन्न, उहाँ हाम्रो अभियानप्रति सकारात्मक हुनुहुन्छ,’ नेपालले भने ।

    एमालेबाट निष्कासनपछि रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरे पनि त्यसले खास प्रगति गर्न सकेको छैन ।

    एक वर्ष नाघ्दा पनि अभियान सुस्त बनेपछि उनी फेरि नयाँ वाम एकताको केन्द्रमा तानिएका हुन् ।

    रावलले वाम एकतालाई सकारात्मक रूपमा हेरेका छन्, तर त्यसको दिगोपनाबारे सचेत रहने बताए ।

    ‘एकता त ठीकै हुन्छ, तर टिकाइरहन भूमिका खेल्नुपर्छ,’ उनले भने ।

    पदको बार्गेनिङ गरिरहेको आरोपबारे रावलले भने, ‘मैले कुनै पद मागेको छैन । देशभरका साथीहरूको धारणा बुझेर मात्रै निर्णय गर्छु ।’

    उनले हाल घनश्याम भुसाल र जनार्दन शर्मासँग संवाद नभएको पनि स्पष्ट पारे ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पछिल्लो समय कुरा नभएको बताउँदै रावलले भने, ‘उहाँको धारणा पनि वाम एकताको पक्षमा नै हो, तर ओली रहुञ्जेल एमाले फर्किने वातावरण देखिँदैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images