images
images
  • चुनावी तालमेल गर्न बाबुराम, जनार्दन र घनश्याम लगायतका नेतासँगको सघन छलफलमा रास्वपा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र घनश्याम भुसाललगायत नेताहरूसँग आगामी निर्वाचनका लागि सम्भावित सहकार्यबारे छलफल भइरहेको बताएका छन् ।

    चितवनमा शुक्रबारदेखि सुरु हुने विस्तारित केन्द्रीय समिति बैठकमा सहभागी हुन आएका झाले बिहीबार पत्रकारसँग कुरा गर्दै विभिन्न गठबन्धन मोडालिटी, सँगै जाने, एकअर्कालाई सघाउने वा अवरोध नगर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

    उनका अनुसार मधेसवादी दलले जस्तै सहकार्यका लागि सामूहिक नेतृत्व (अध्यक्ष मण्डल) बनाउने प्रस्ताव पनि छलफलमा छ, तर अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन ।

    ‘राजनीतिमा सबैले नेतृत्वको आकांक्षा राख्छन्,’ उनले भने, ‘तर अरूलाई नेता मान्न नसक्ने व्यक्ति नेता बन्न सक्दैन ।’

    झाले रास्वपाले लचकता देखाए पनि भाँचिने गरी होइन भन्दै सिद्धान्तमा अडान कायम रहने बताए ।

    उनका अनुसार नयाँ पुस्ताका, सुशासन र राजनीतिक संस्कार परिवर्तनका लागि आएका दलबीच सहकार्यको सम्भावना खुला छ ।

    ‘हामीले झ्याल–ढोका खुला राखेका छौं,’ उनले भने, ‘कुराकानीबाटै कुरा मिल्छ, त्यसैले छलफल भइरहेकै छ ।’

    शुक्रबारदेखि सुरु भएको रास्वपा बैठक चितवनको सौराहामा जारी छ ।

    दुई दिनसम्म बस्ने बैठकमा ५१२ जना प्रतिनिधि सहभागी भएका छन् भने आगामी निर्वाचनका लागि सिद्धान्त, गठबन्धन र नेतृत्वबारे विस्तृत छलफल हुने पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images