काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसको तेस्रो साता समानुपातिकतर्फको बन्दसूची बुझाएर पार्टी महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन् ।
शुक्रबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा उपत्यकाका निकट जिल्ला सभापतिहरूसँगको छलफलमा उनले आगामी फागुन २१ गतेको निर्वाचनअघि नयाँ नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘निर्वाचन अघि नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ,’ छलफलमा सहभागी एक सभापतिले कोइरालाको भनाइ उद्धृत गर्दै बताए ।
उनका अनुसार पुस २५ मा समानुपातिक सूची बुझाइसकेपछि महाधिवेशन गर्न सकिने प्रस्ताव कोइरालाले गरेका थिए ।
कोइरालाले महाधिवेशन नियमित गर्ने वा विशेष महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिले नै गर्नुपर्ने बताए ।
समानान्तर भेला नगर्न र पार्टीलाई संकटमा नपार्न आग्रह गर्दै उनले सबै नेतासँग संवाद गरेर पार्टी एकता कायम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
छलफलमा रूपन्देही, चितवन, खोटाङ, नुवाकोट, धादिङलगायतका जिल्ला सभापतिहरू, केही पूर्वजिल्ला सभापति, प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी थिए ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अपस्थित भएनन् ।
























