काठमाडौं– भक्तपुरको गुण्डुमा कार्यकर्तासँग भेट्दै नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक निकास प्रतिनिधिसभा पुनःस्थापना मात्रै भएको बताएका छन् ।
उनले असंवैधानिक प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलन गर्ने घोषणा गरे ।
‘हैसियत नभएका व्यक्तिको सिफारिसमा गरिएको यो असंवैधानिक कदमविरुद्ध हामी आन्दोलनमा उत्रिन्छौं,’ ओलीले भने ।
यसअघि उनले संसद् पुनर्स्थापना गरेर पुनः आफै प्रधानमन्त्री बन्ने इच्छा प्रकट गरिसकेका छन् ।
उनले मंसिर ६ गते काठमाडौंमा वृहत् जनसभा गर्ने र त्यसका तयारीका लागि कात्तिक २२ गते वडा–वडामा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक विघटन सदर गर्नु ठूलो गल्ती भएको बताउँदै ओलीले प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको बलमा सत्ता सम्हालेपछि प्रतिनिधिसभा भंग गरेर देशलाई अस्थिरतामा धकेलेको आरोप लगाए ।
उनका अनुसार प्रधानमन्त्री कार्कीको ‘राजनीतिक नेताको मुख हेर्दिनँ’ भन्ने अभिव्यक्ति पनि आगामी चुनाव नचाहने संकेत हो ।























