images
images
  • कांग्रेसले महिनौँसम्म पनि तोक्न सकेन महाधिवेशन मिति

    काठमाडौं– चुनावअघि १५औं महाधिवेशन गर्न सकिन्छ कि सकिँदैन भन्ने बहसमै नेपाली कांग्रेसले एक महिना बिताइसकेको छ ।

    भदौ २४ र २५ गतेको ‘जेनजी आन्दोलन’पछि नीति र नेतृत्व परिवर्तनको माग उठेपछि महाधिवेशनको चर्चा तीव्र बनेको हो ।

    सभापति शेरबहादुर देउवा आक्रमणमा घाइते भएपछि असोज २८ मा केन्द्रीय समितिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए पनि महाधिवेशनको मिति तोक्ने निर्णय हुन सकेको छैन ।

    महामन्त्री गगन थापाले फागुनअघि महाधिवेशन गर्न सकिने प्रस्तावसहित कार्यतालिका पेश गरे पनि नेताहरू चुनावअघि कि पछि गर्ने भन्नेमा विभाजित छन् ।

    केन्द्रीय सदस्यहरू अब्दुल सत्तार र मदन अमात्य लगायतले चुनावअघि नै महाधिवेशन अनिवार्य रहेको तर्क गर्दै नेतृत्व परिवर्तन र संगठन सुदृढीकरणको आवश्यकता औंल्याएका छन् ।

    सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन गर्न सुझाव दिएका छन् भने गगन थापाले पुस १६–१९ गतेसम्म सम्पन्न गर्न सकिने योजना पेस गरेका छन् ।

    सो प्रस्तावलाई धेरै पदाधिकारीले समर्थन गरे पनि देउवानिकट नेताहरू तयारी नपुग्ने भन्दै चुनावपछि गर्ने पक्षमा छन् ।

    सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पुस १६–१९ गतेसम्म महाधिवेशन गर्ने सम्भावनामा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

    तर पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह भने चुनावपछि मात्रै गर्ने पक्षमा छन् ।

    देउवाले असोज २८ को केन्द्रीय समितिमा समयमै नेतृत्व हस्तान्तरण गर्ने संकेत दिएका थिए ।

    प्रारम्भिक मन्तव्यमा मंसिरमै महाधिवेशन गर्ने कुरा थियो, तर देउवानिकट नेताहरूको आग्रहमा त्यो हटाइएको बताइन्छ ।

    यसबीच, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् भने नियमित महाधिवेशन पक्षधर समूहले पनि काठमाडौंमा भेला गरी समयमै अधिवेशन गर्न दबाब दिएका छन् ।

    कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने विवाद अझै टुंगोमा पुगेको छैन, नेतृत्वले केही दिनमै निर्णय गर्ने संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images