काठमाडौं– नेपाली कांग्रेसभित्र आउँदो फागुन २१ गतेको निर्वाचनअघि महाधिवेशन गर्ने–नगर्ने विषयमा तीव्र मतभेद बढेको छ ।
पूर्वपदाधिकारी र संस्थापन पक्षले महाधिवेशन नहुने अडान लिँदा महामन्त्री गगन थापाको लाइनमा उभिएका केन्द्रीय सदस्य र पदाधिकारीहरूले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग बढाएका छन् ।
मंगलबार थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव राखे भने सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७–३० गतेसम्म गर्ने व्यक्तिगत प्रस्ताव प्रस्तुत गरे ।
जसलाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आधिकारिक नभएको बताए ।
देउवा पक्षबाट विजयी सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य तारामान गुरुङ, आङगेलु शेर्पा, अब्दुल सतार, उदयशमशेर राणा, मदन अमात्य लगायतले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरी चुनावमा जानुपर्ने तर्क अघि सारे ।
मन्सुरले त गगन थापालाई प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सार्न प्रस्ताव गरे ।
संस्थापन निकट सदस्यहरूले पनि पार्टी सुदृढीकरण र जनआकांक्षाको सम्मानका लागि छिटो महाधिवेशन अपरिहार्य रहेको बताएका छन् ।
उनीहरूका अनुसार अहिलेको नेतृत्वका कारण कांग्रेस जनविश्वास गुमाउँदै गएको छ र समयमै परिवर्तन नगरे परिणाम गम्भीर हुन सक्छ ।
वर्तमान १३ पदाधिकारीमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर र भीष्मराज आङदेम्बे गरी ७ जना चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।
बाँकी कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कोषाध्यक्ष उमेश श्रेष्ठ र चार सहमहामन्त्री अल्पमतमा परेका छन् ।
बुधबार पनि छलफल निष्कर्षमा पुगेको छैन भने बैठक बिहीबार पुनः बस्ने भएको छ ।























