काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल अन्ततः १० दल–समूहको एकता प्रक्रियामा सहभागी भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवाद निष्कर्षमा नपुगेपछि र महासचिव घनश्याम भुसाल नयाँ पार्टीको नेतृत्वका लागि तयार नभएपछि खनाल प्रचण्ड–माधव पक्षमा उभिएका हुन् ।
खनालले एकता सम्मेलनमा सहभागी हुँदै आफूलाई केही ‘रिजर्भेसन’ रहेको उल्लेख गरे पनि प्रचण्डले ती विषय सम्बोधन गर्ने आश्वासन दिएको बताए ।
उनले भने, ‘मैले कमरेड प्रचण्डलाई आफ्नो ‘रिजर्भेसन’ बताइसकेको छु । उहाँले ती कुरा मिलाउने प्रतिबद्धता गर्नुभएको छ, त्यसैको विश्वासमा म एकतामा आएको हुँ ।’
यसअघि ओलीसँगको छलफलमा खनालले पार्टी फर्कनका लागि चार सर्त राखेका थिए ।
मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्ने, समाजवादी क्रान्तिको कार्यदिशा स्पष्ट गर्ने, समाजवादी कार्यक्रममा एकमत हुने र ‘जबज’ त्याग्ने ।
तर, ओलीले ती सर्त स्वीकार नगरेपछि उनी एकतामा सहभागी भएका हुन् ।
एकीकृत समाजवादीभित्र खनाल–भुसालबीच नेतृत्व विवादले दूरी बढाएको थियो। खनालले महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राखे पनि भुसालले अस्वीकार गरेका थिए ।
अन्ततः भुसालले नयाँ पार्टी पुनर्गठन अभियान सुरु गरेका छन् ।
भुसालले मंसिर पहिलो साता राष्ट्रिय भेला बोलाउँदै नयाँ पार्टीको तयारी अघि बढाइरहेका छन् ।
डा. विजय पौडेल, जीवनराम श्रेष्ठ र सुष्मा राईलगायत नेताहरू उनको साथमा छन् ।
उता, नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नेतृत्व गरेको अर्को समूह भने एमालेमा फर्किने भएको छ ।
बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूले एमालेमै फर्किने निर्णय सार्वजनिक गरेका छन् ।























