images
images
  • सुशासनको दुहाइ दिने कार्की सरकारका मन्त्रीहरू सम्पत्ति लुकाउँदै, दुई महिनासम्म गुपचुप

    काठमाडौं– सुशासनलाई मुख्य नारा बनाउँदै सत्ता सम्हालेको जेन्जी भावनाको सरकारले पनि पदासीन भएको दुई महिना पुग्दा सम्पत्ति विवरण सार्वजनिक नगरेर आलोचना खेपिरहेको छ ।

    २०४८ सालदेखि सुरु भएको प्रधानमन्त्री र मन्त्रीले १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परालाई निरन्तरता नदिँदा सुशासन अभियन्ता र जेनजी पुस्ताका समर्थकहरू असन्तुष्ट छन् ।

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वन्यायाधीश, पूर्वसचिव र पत्रकार सम्मिलित सरकारबाट नै पारदर्शिताको सवालमा ढिलाइ हुनु विडम्बनापूर्ण भएको टिप्पणी सुशासनविद्हरूले गरेका छन् ।

    संविधानविद् काशीराज दाहालका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नु कानुनी भन्दा बढी नैतिक जिम्मेवारी हो ।

    उनले भने, ‘जेनजी भावनाअनुसार बनेको सरकारले परम्परागत अभ्यास तोडेर पारदर्शितामा उदाहरणीय हुनुपर्ने हो ।’

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार बुधबारसम्म कुनै मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

    कानुनअनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ ।

    भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार ऐन २०४८ ले हरेक वर्ष सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

    २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारले १५ दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने प्रथाको सुरुवात गरेको थियो ।

    तर, पछिल्ला वर्षहरूमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सम्पत्ति विवरण बुझाउन वा सार्वजनिक गर्न ढिलाइ गर्ने परिपाटी बढेको छ ।

    शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीको पछिल्ला कार्यकालमा पनि कानुनी समयसीमा म्याद नाघेर मात्र वा सार्वजनिक नै नगरी विवरण बुझाइएको थियो ।

    प्रधानन्यायाधीश हुँदा पनि सुशीला कार्कीले सम्पत्ति विवरण सार्वजनिक नगरेकी थिइन् ।

    २०६७ मा रामप्रसाद श्रेष्ठले पहिलोपटक विवरण सार्वजनिक गरे पनि त्यसपछि कुनै न्यायाधीशले त्यसको अनुसरण गरेनन् ।

    निवर्तमान ओली सरकारले सार्वजनिक पदधारीका लागि सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुनी व्यवस्था तयार पारेको थियो ।

    तत्कालीन मन्त्री भगवती न्यौपानेका अनुसार उक्त विधेयक संसद्मा अड्किएको थियो ।

    उनले भनिन्, ‘सुशासनको नारा लगाउने अहिलेको सरकारले त १५ दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्थ्यो, तर त्यो पनि भएन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images