काठमाडौं– चार वर्षअघि नेकपा (एमाले)बाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अब तीन टुक्रा भएको छ ।
अध्यक्ष माधवकुमार नेपालसहितका बहुमत नेताहरू माओवादी केन्द्रसहितका १० वाम घटकसँग पार्टी एकता प्रक्रियामा सामेल हुँदै नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश गरेका छन् ।
यससँगै झलनाथ खनाल, बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा जस्ता नेताहरू पनि एकता प्रक्रियामा छन् ।
अर्को समूहका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठन गर्दै क्रान्तिकारी पार्टी निर्माणको अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
उनलाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ र दामोदर अर्यालले साथ दिएका छन् ।
तेस्रो समूहको नेतृत्व रामकुमारी झाँक्रीले गर्ने भएकी छन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीसँगको यात्रा अन्त्य भएको घोषणा गरेकी छन् ।
उनका संकेत अनुसार एमालेमै फर्किने सम्भावना बढी देखिएको छ ।























