काठमाडौं– नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायत आठ दलबीचको एकता प्रक्रियाबाट बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ ।
माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त नाम प्रस्ताव गरेका हुन् ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले पत्रकारहरूसँग कुरा गर्दै पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँचकुने तारा’ हुने जानकारी दिए ।
उनका अनुसार नयाँ पार्टीले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई कार्यदिशाका रूपमा लिनेछ ।
समाजवादी क्रान्ति, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरणका लागि एकीकरण आवश्यक रहेको उनले बताए ।
पार्टीले जनवादी उपलब्धिको रक्षा गर्दै समाजवादको आधार तयार गर्ने र शान्तिपूर्ण आन्दोलनलाई प्राथमिकता दिँदै आवश्यक परे सदन, सरकार र सडक सबै मोर्चामा संघर्ष गर्ने नीति लिएको छ ।
सपाकोटाका अनुसार, कात्तिक १९ गते संयुक्त भेलाबाट एकीकरण घोषणा गर्दै अन्तरिम विधान र केन्द्रीय समिति गठन गरिनेछ ।
नयाँ पार्टीले छ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र सहभागी दलका सदस्यहरूलाई आपसी सहमतिमा समायोजन गर्ने निर्णय गरेको छ ।
संरचनागत रूपमा पार्टीमा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्यसञ्चालन समिति रहनेछ, जहाँ संयोजक र सहसंयोजक मात्र पद रहने व्यवस्था गरिएको छ ।























