काठमाडौं– सभामुख देवराज घिमिरेले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संसद र सांसदहरूविरुद्ध काम गरिरहेको आरोप लगाएका छन् ।
सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा उनले भने, ‘यो सरकार संसदलाई कमजोर पार्ने काममा लागेको छ, बुझेर वा नबुझेर, जुन गलत हो ।’
उनको यस्तो टिप्पणी सरकारले उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र ५८ जना सांसदका स्वकीय सचिव हटाउने निर्णयपछि आएको हो ।
घिमिरेका अनुसार संसद भंग भएको विशेष परिस्थितिमा पनि मुलुकमा संसदीय शासन प्रणाली कायम छ, तर सरकारले त्यसलाई कमजोर पार्ने निर्णय गर्दैछ ।
‘कानुनी व्यवस्था अनुसार सभामुख र उपसभामुख विद्यमान छन्,’ उनले भने, ‘तर, कानुनमा मिलोस् वा नमिलोस्, संसदलाई काम गर्न अप्ठ्यारो पार्ने काम भइरहेको छ, जुन राष्ट्रको उन्नतिको प्रतिकूल हो ।’
प्रधानमन्त्री सुशीला कार्की, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अन्य पदाधिकारीबीच सोमबार सिंहदरबारमा भेट भएको थियो ।
भेटमा घिमिरेले राज्यका तीनै निकायहरू कार्यपालिका, विधायिका र न्यायपालिका आ–आफ्नो सीमाभित्र रहनुपर्ने धारणा राखेका थिए ।
उनले सांसदहरूका स्वकीय सचिव हटाउने निर्णयलाई संसदमाथिको असहयोग र संसदीय कार्यलाई निष्क्रिय बनाउने प्रयास भनेका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले स्वकीय सचिवहरूलाई ‘भ्रष्टाचारको कारण’ भनेको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए ।
‘सांसदहरूलाई सहयोग गर्न स्वकीय सचिव आवश्यक हुन्छ,’ घिमिरेले भने, ‘कतिपय सांसदहरू अपाङ्गता भएका छन् । तिनीहरूका लागि स्वकीय सचिव सहारा हुन्, भ्रष्टाचारको माध्यम होइन ।’
उनले सांसदहरूको सीप विकासका लागि ‘संसदीय स्टाफ कलेज’ खोल्ने तयारी भइरहेको बेला सरकारको निर्णय आएको भन्दै असन्तुष्टि व्यक्त गरे ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्