काठमाडौं– जेन्जी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान प्रक्रिया सुरु गरेको छ ।
आयोगले सोमबार सिंहदरबारस्थित कार्यालयमा नख्खु कारागारका जेलर सत्यराज जोशीको बयान लिएको हो ।
आयोगका पदाधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलबाट बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे जोशीसँग सोधपुछ गरेका थिए ।
उक्त पत्रमा सहकारीसम्बन्धी राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने भएकाले गृह सचिवको आदेशअनुसार लामिछानेलाई थुनामुक्त गरिएको उल्लेख छ ।
जोशीका अनुसार, रवि लामिछाने निस्केको करिब डेढ घण्टापछि रास्वपाका व्यक्तिहरूले ल्याएको पत्रमा आफूलाई हस्ताक्षर गराएको भए पनि त्यसको विवरण हेर्न नपाएको बताए ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र बिन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे स्थल निरीक्षण पनि गरेका छन् ।























