काठमाडौं– २०७८ सालमा माधवकुमार नेपालसँग मिलेर एमाले छाडी एकीकृत समाजवादी बनाउने नेतृ रामकुमारी झाँक्री अहिले त्यही पार्टीको भावी दिशाबारे दोधारमा छिन् ।
चार वर्षअघि नेपाललाई काँध थापेकी झाँक्री अहिले भने माओवादी केन्द्रसँग हुन लागेको पार्टी एकतामा सहभागी नहुने भएकी छन् ।
एकीकृत समाजवादी अहिले तीन धारमा विभाजित छ ।
माधव नेपाल समूह माओवादीसहित आठ पार्टीसँग एकता गर्न तयार छ ।
झलनाथ खनाल र घनश्याम भुसाल समूह पार्टी पुनर्गठनमा लागेको छ; र झाँक्री समूह न एकतामा न पुनर्गठनमा ।
झाँक्री निकट नेताहरूका अनुसार उनीहरू अहिले स्पष्ट निर्णयमा पुगेका छैनन् ।
झाँक्रीले पनि भनिन्, ‘अहिले हामी दोबाटोमा उभिएका छौँ। माधव नेपालले बीच बाटोमै छाडेर गए ।’
घनश्याम भुसालतर्फ पनि उनको रुचि छैन ।
झाँक्री समूहका लागि दुई विकल्प खुला छन् ।
नयाँ राजनीतिक शक्ति निर्माण गर्ने वा एमालेमै फर्कने। एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत व्यक्तिगत रूपमा फर्किन चाहनेलाई स्वागत गर्ने संकेत गरिसकेका छन् ।
अनौपचारिक रूपमा झाँक्रीले भनिन्, ‘हामी एकता प्रक्रियामा सहभागी हुँदैनौँ । माओवादीसँग होइन, संगठनबद्ध भएर एमालेमा फर्कने दिन ढिलोचाँडो आउँछ ।’























