काठमाडौं– भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रमणअघि राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलहरूसँग छलफल नगरेको पाइएको छ ।
विगतमा प्रधानमन्त्रीले विदेश भ्रमणअघि राष्ट्रपतिलाई भेटेर भ्रमणका एजेन्डा र राष्ट्रिय हितका विषयमा जानकारी गराउने अभ्यास थियो ।
तर प्रधानमन्त्री शाहले यसपटक त्यस्तो ब्रिफिङ नगरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।
त्यस्तै, पूर्वप्रधानमन्त्रीहरूसँग पनि परामर्श नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।
कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले महत्त्वपूर्ण विदेश भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन राजनीतिक दलहरूसँग छलफल गर्नु लोकतान्त्रिक परम्परा भएको बताएका छन् ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत प्रस्थान गर्दैछन् ।
मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, लगानी, पूर्वाधार तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने तयारी छ ।






















