काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र उठेको विशेष महाधिवेशनको माग अस्वीकार गर्दै संस्थापन पक्षका नेताहरूलाई नियमित महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
दुई हजार ४८८ प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित पत्र बुझाए पनि देउवाले सिंगापुरबाटै खड्का र अन्य नेताहरूलाई त्यसको कार्यान्वयन नगर्न भनेका हुन् ।
उनका अनुसार देउवाले नियमित महाधिवेशनमा सहमतिको प्रयास गर्न निर्देशन दिएका छन् ।
देउवा अहिले पत्नी डा. आरजु राणासँग उपचारका लागि सिंगापुरमा छन् ।
जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा आक्रमणमा परेका देउवा दम्पतीले करिब एक महिना सैनिक अस्पतालमा उपचार गराएका थिए ।
कुटपिटपछि पहिलो पटक असोज २८ गते पार्टी कार्यालय सानेपामा देखिएका देउवाले त्यही बैठकमा कार्यवाहक सभापतिका रूपमा खड्कालाई जिम्मेवारी दिएका थिए ।
त्यसयता जारी केन्द्रीय समिति बैठकमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा विवाद जारी छ ।
संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि आगामी वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ ।
इतर समूहका नेता शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।
पुस १६–१९ मा महाधिवेशन गर्ने भन्ने प्रस्ताव पनि आएको छ तर सहमति हुन सकेको छैन ।























