images
images
  • दुर्गा प्रसाईंको राजावादी अभियानमा हाम्रो संलग्नता छैन : भारत

    काठमाडौं– एक भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नेपालका राजतन्त्रवादी व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक अभियानप्रति आफ्नो कुनै चासो र सम्बन्ध नभएको बताएको छ ।

    एनडीटीभीका अनुसार क्यान्सर उपचारका लागि प्रसाईं यसै हप्ता भारत आइपुगेको तर उनले यस भ्रमणलाई ‘नेपालको राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापना गर्ने अभियानका लागि भारतीय नेताहरूसँग सम्पर्क गर्ने र नैतिक समर्थन प्राप्त गर्ने प्रयास’ भनेका छन् ।

    तर भारतीय अधिकारीहरूले उनका गतिविधिमा भारतको कुनै संलग्नता वा चासो नभएको बताएका छन् ।

    कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार बरु भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई एक अनावश्यक विचलनका रूपमा हेरेका छन् र नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र यसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारत अडिग देखिएको छ ।

    यस विषयका जानकार एक अधिकारीले एनडीटीभीसँग भनेका छन्, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’

    दिल्लीका अधिकारीहरू प्रसाईंले गरेको भारतीय सहानुभूतिको दाबीबाट चिढिएको भनेर उक्त पत्रिकाले लेखेको छ ।

    ‘प्रसाईंको राजनीतिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन’, नेपालसँग कूटनीतिक सम्बन्धमा संलग्न एक वरिष्ठ अधिकारीले भने, ‘…उनका गतिविधिलाई भारतबाट कुनै समर्थन छैन ।’

    ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईंले आगामी मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images