काठमाडौं– जेन्जी आन्दोलनका नेताहरूले कुलमान घिसिङकै नेतृत्वमा दल दर्ता गर्ने तयारी गरे पनि उनले अझै स्पष्ट सहमति नदिँदा वैकल्पिक योजना बनाइएको छ ।
रास्वपा छोडेकी सुमना श्रेष्ठले अध्यक्षलाई ‘सेरेमोनियल’ बनाएर सामूहिक नेतृत्वमा जाने प्रस्ताव समर्थन गर्दै आफू नेतृत्वमा दाबी नगर्ने स्पष्ट गरेकी छन् ।
सुदन गुरुङले पनि तत्काल नेतृत्व नलिने बताउँदै भने, ‘धेरै मान्छे मरिसके, त्यो रगत देखाएर नेता बनेको भन्ने आरोप आउँछ ।’
उनले आफूसँग रहेका जेन्जी कार्यकर्ता पनि यही दलमा मिसाउने बताए ।
उता, मेयर बालेन्द्र शाहले जहाँ बढी जेन्जीहरू हुने पार्टी बनिन्छ, त्यसैलाई सहयोग र समर्थन गर्ने सन्देश पठाएका छन् ।
कुलमानकै नेतृत्वमा पार्टी बन्यो भने बलियो बन्नेछ ।
तर, कुलमान तयार नभए अहिले उनको नाम सार्वजनिक नगरी अघि बढ्ने र पछि उनलाई नेतृत्वमा ल्याउने समझदारी गरिएको स्रोतले बतायो ।
कुलमानका प्रेस संयोजक सचेन गौतमले भने, ‘छलफल भइरहेको होला, तर पार्टी दर्ता हुने सूचना मसँग छैन ।’
घिसिङले भने मन्त्री पदबाट राजीनामा दिने हल्ला अस्वीकार गर्दै आफू जेन्जी आन्दोलनको जनादेश पूरा गर्न क्रियाशील रहेको प्रतिक्रिया दिएका छन् ।























